छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ।
निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ बजे सुरु मतदान साँझ ५ बजे सम्पन्न भएको हो।
आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले मत दिने समय साँझ ५ बजेसम्म भए पनि मतदानस्थलको लाइनमा रहेर मत दिन बाँकी मतदाताले त्यसपछि पनि मतदान गर्न सक्ने बताइन्।
आयोगका अनुसार अहिलेसम्म कुनै पनि मतदान केन्द्रको मतदान औपचारिक रूपमा स्थगन घोषणा गरिएको छैन।
दोलखा, सर्लाही र रौतहटमा केही बेर विवाद भए पनि समाधान भएको थियो।
केही बेर मतदान स्थगनपछि दोलखाको तामाकोसी-४ स्थित मालु मतदानस्थलमा अहिले पनि मतदान जारी छ।
मतदानको विस्तृत विवरण अहिले साँझ ६:१५ बजे पत्रकार सम्मेलन गरेर आयोगले जानकारी गराउने भएको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र एकजना अन्य गरी जम्मा ३ हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा ६१ वटा निर्वाचन चिह्नका साथ ६५ वटा राजनीतिक दल सहभागी छन्।
सामानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि आज मतदान गरिएको हो।
Shares

प्रतिक्रिया