सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ।
संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशनअनुसार, परिषद् सचिवालयले बैठक बोलाएको हो।
बैठक आज साँझ पाँच बजे बस्ने सचिवालयले जनाएको छ।
संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।
बैठकमा सहभागी हुनका लागि सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।
प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि बरिष्ठतम न्यायाधीशको सपना प्रधान मल्ल यतिबेला सर्वोच्चमा कायम मुकायम (का.मु.) प्रधानन्यायाधीश छिन्। परिषद् बैठकमा कामु प्रधानन्यायाधीश सदस्यको रुपमा उपस्थित हुन नपाउने संवैधानिक व्यवस्था छ।
त्यसैले बैठकमा सहभागी हुन सभामुख अर्याल, राष्ट्रिय सभाका अध्यक्ष दाहाल, कानुनमन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता आङ्देम्बे र उपसभामुख रुवी कुमारीलाई मात्र आमन्त्रण गरिएको छ।
गत चैतमा पद रिक्त हुनुअघि नै न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका छ जनाको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो।
न्यायपरिषद्ले सर्वोच्च अदालतमा त्यतिबेला वरिष्ठतम न्यायाधीश रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, न्यायाधीश डा.मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीले पनि प्रधानन्यायाधीशको आकांक्षा राखेका स्रोतले जनाएको छ।
दुई दिनअघि मात्रै जारी भएको संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेशले परिषद्मा ६ जना सदस्य रहे पनि तीनजनालाई नै बहुमत मानेर निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा यसअघि सम्पूर्ण सदस्य संख्या बहुमतबाट निर्णय गर्ने व्यवस्था थियो।
अब कुनै विषयमा निर्णय गर्नुपर्दा पक्ष-विपक्षमा ३-३ जना भए पनि परिषद्को अध्यक्ष (प्रधानमन्त्री) जता उभिन्छन् त्यसैलाई बहुमत मान्न सकिने व्यवस्था गरिएको छ।
- संवैधानिक परिषद्: अब तीन जनामा प्रधानमन्त्री जता उभिन्छन् उतै बहुमत
-
अध्यादेशले खुल्यो आफूखुसी नियुक्तिको बाटो : बालेनले गर्न सक्छन् विपक्षीलाई ‘बाइपास’
Shares

प्रतिक्रिया