ad ad

समाज


गायिका दिलमायाको हत्या आशंका, मोबाइल फोन र पासो लगाएको सल भेटिएन

गायिका दिलमायाको हत्या आशंका, मोबाइल फोन र पासो लगाएको सल भेटिएन

नेपालखबर
असार १२, २०७९ आइतबार १३:४७, काठमाडौँ

लोक गायिका दिलमाया सुनारको हत्या आशंका गरिएको छ। उनीसँग सम्बन्धमा रहेका भनिएका सूर्य श्रेष्ठले हत्या गरेको आशंकामा उपत्यका अपराध अनुसन्धान महाशाखाले अनुसन्धान अघि बढाएको हो।

शनिबार बिहान काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा शंकास्पद अवस्थामा मृत भेटिएकी थिइन्। त्यसपछि शुक्रबार राति उनकै डेरामा पुगेका सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। 

सुर्खेत घर भएकी सुनारले मृत भेटिनुअघि फेसबुकमा लामो स्टाटस लेख्दै आफूले जीवनसँग हार खाएको बताएकी थिइन्।

आफूलाई बाँच्न मुस्किल भएको भन्दै स्टाटस लेखेकी सुनार शनिबार मृत भेटिएकी थिइन्। 

गायिका दिलमाया सुनारको रहस्यमय मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

लाइभ दोहोरीका कारण चर्चामा आएकी दिलमायाको शनिबार बिहान ११ बजे नेपालटारस्थित कोठामै शव भेटिएपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।

सुरुमा आत्महत्या आशंकामा अनुसन्धान थालेको प्रहरीले घटनास्थलबाट उनले प्रयोग गर्ने मोबाइल फोन र झुन्डिन प्रयोग गरेको भनिएको सल फेला पार्न सकेको थिएन। 

सुनारको मृत्युबारे अनुसन्धान थालेको प्रहरीले सिन्धुपाल्चोकको साँगाचोकगढी निवासी सूर्य श्रेष्ठ भन्ने खिलबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।

श्रेष्ठले मोबाइलबारे केही नबताए पनि दिलमायाले झुन्डिन प्रयोग गरेको सल चक्रपथमा लगेर फ्याँकेको बताएका छन्। 

अपराध महाशाखाका अनुसार कोठामा दिलमायाको मोबाइल र झुन्डिन प्रयोग भएको भनिएको सल नभेटिएपछि प्रहरीले आत्महत्याबाट हत्यातर्फ केन्द्रित भएर अनुसन्धान थालेको हो। 

'गायिका पासो लागेको भनिएको सल पनि भेटिएको छैन। मोबाइल पनि गायब छ। पक्राउ परेको सूर्य श्रेष्ठले चक्रपथ रिङ रोडमा सल फ्याँकेको भनेको छ', महाशाखाका एक अधिकारीले भने, 'त्यसैले हत्या गरेको आशंकामा अनुसन्धान हुँदैछ। गायिकाको घाँटीमा पनि शंकास्पद निलडाम देखिएको छ।'

एक छोराकी आमा दिलमाया पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएकी थिइन्। चार छोराछोरीका बाबु सूर्य उनको कोठामा नियमित गइरहन्थे।

शुक्रबार राति पनि उनी दिलमायाको कोठामा पुगेको खुलेको छ। जहाँ छिमेकीहरूले शुक्रबार राति ११ बजेको समयमा ठूलो हल्ला भएको सुनेका थिए।

दिलमायाको शव अहिले पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

'केटाले सल फ्याँकेको बताएको ठाउँमा महाशाखाको टोली गएको छ', ती अधिकारीले भने, 'दिलमाया मृत भेटिएको अघिल्लो राति सूर्य केटीकै कोठामा गएको खुलेको छ। हाम्रो अनुसन्धान हत्यातिरै मोडिएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .