अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पाण्डेसहित ६ जना उपर भ्रष्टाचार मुद्दा दायर गरेको छ।
डिभिजनल इन्जिनियर पाण्डे, इन्जिनियर, निर्माण समितिका अध्यक्षसमेत ६ जना उपर ४३ लाख २२ हजार १५५ रुपैयाँ ६६ पैसा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. १ स्थित रिखेवगर, गैरीकटेरी, बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीबाट रकम विनियोजन भएकोमा प्राविधिक र निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा आफ्नो अनुकुल इष्टिमेट चेन्ज गरी उक्त सडक निर्माणमा रकम हिनामिना गरेको अख्तियारको ठहर छ।
सो सम्बन्धी उजुरी निवेदनमा अख्तियारले गरेको अनुसन्धानका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पाण्डे¸ तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव¸ तत्कालीन सव-इन्जिनियर नारायण ओलीसमेतले आ.व. २०७४/०७५ मा रिखेवगर, गैरीकटेरी, बाघमारे दाङ्ग सडक निर्माणको लागि सडक निर्माण उपभोक्ता समितिसँग भएको सम्झौताको सर्त र स्वीकृत लागत अनुमान विपरीत भेरिएशन स्वीकृत नगरी आफूखुशी बदनियतपूर्वक आफूलाई सजिलो पर्ने गरी जथाभावी निर्माण कार्य गरी गराई मूल्याङ्कन विल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई योजनाको स्वीकृत लागत अनुमान अर्थात डिजाइन र नर्म्स विपरीत उपभोक्ता समितिलाई बढी रु. ४३ लाख २२ हजार १५५ रुपैयाँ ६६ पैसा भुक्तानी दिइएको पाइएकाे थियो।
उनीहरुकाे सो कार्य नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिमको कसुर गरेकोले उनीहरु उपर बिगो रु. ४३ लाख २२ हजार १५५ रुपैयाँ ६६ पैसा कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र बिगोबमोजिम जरिबाना गरी बिगो असुल उपर गर्न मागदावी लिइएको छ ।
साथै रिखेवगर, गैरीकटेरी, बाघमारे दाङ्ग सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मन बहादुर खत्री, कोषाध्यक्ष शोभा कुमारी खत्री, सचिव लाल बहादुर केसीसमेतले उक्त सडक निर्माण गर्दा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङसँग गरेको सम्झौताको शर्त र स्वीकृत लागत अनुमान विपरीत¸ भेरिएशन स्वीकृत नगराई जथाभावी निर्माण कार्य गरी¸ मूल्याङ्कन विल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई भुक्तानी लिएको भन्दै बिगोबमोजिम जरिबाना गरी बिगोसमेत जफत गर्न मागदाबी लिइ आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया