भक्तपुरमा डलर साट्ने बहानामा पीडितबाट ७ लाख रुपैयाँ र मोबाइल लुटेर फरार भएका चारजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–१ बोडे बस्ने वर्ष २८ को पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन, वर्ष २५ को प्रकाश तामाङ भन्ने सूर्य बहादुर पाइन, वर्ष ३६ को सागर भन्ने सन्तबिर पाइन र सोही ठाउँ घर भइ हाल ललितपुर धापाखेल बस्ने वर्ष ३५ को विष्णु कुमार रुम्बा रहेका छन्।
उनीहरूले पीडितलाई ९७६२६३४८६१ नम्बरको मोबाइलबाट सम्पर्क गरी आफूसँग ६ हजार अमेरिकन डलर छ, तपाईं ७ लाख नेपाली रकम दिनु भनी विभिन्न परिपन्च गरी असार २२ गते चागुँनारायण नगरपालिका ४ हलछाप स्थित एकान्त जंगलमा ललेका थिए।
तत्पश्चात समूहमा रहेका ५/६ जना व्यक्तिहरूले एक्कासी पीडितको मुख थुनी नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको आइफोन मोबाइल र नगद ७ लाख जबरजस्ती खोसी फरार भएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको टोलीले असार २६ गते उनीहरूलाई भक्तपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
उनीहरूको साथबाट बा ७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश ०२–०५३ प २७८० नं. पल्सर मोटरसाइकल, ७२ हजार रकम उल्लेख भएको चेक, नेपाली रू ६४ हजार ४० रुपैयाँ, रकम जम्मा गरेको ग्लोबल आईएमई बैंकको रसिद र विभिन्न कम्पनीका मोबाइलहरू थान–१० बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ।
Shares

प्रतिक्रिया