हमासले बन्धक बनाएका बेला मारिएका विपिन जोशीको शव आज (सोमबार) नेपाल ल्याइपुर्याइँदै छ।
सरकारका अनुसार उनको शव आज दिउँसो ३ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङले विपिनको शव बुझ्न र श्रद्धाञ्जली व्यक्त गर्न आज दिउँसो ३ बजे त्रिभुवन विमानस्थल पुग्ने कार्यक्रम रहेको जानकारी दिए।
‘यो खबर सुनेदेखि म स्तब्ध छु। हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नुपर्यो। उहाँको अकाल निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु’, घिसिङले भने, ‘तर त्यो अन्तिम त्रासदीको क्षणमा पनि उहाँले देखाउनुभएको अपूर्व साहस, बहादुरी र त्यागले अरू धेरै साथीहरूको जीवन बचायो। विपिनको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सर्वोच्च विरासत हो। यसले हामी सबैलाई उहाँप्रति सदाकाल गौरवान्वित बनाइरहनेछ। उहाँ नेपाली गौरवको प्रतीकका रूपमा हामीमाझ सधैँ जीवित रहनुहुनेछ।’
काठमाडौँबाट विपिनको शव नेपाली सेनाको संयोजनमा उनको घर कञ्चनपुर पुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
शव नेपाल पठाउनुअघि आइतबार इजरायलमा कार्यक्रम आयोजना गरी विपिनलाई श्रद्धाञ्जली दिइएको थियो।
रोयटर्सका अनुसार इजरायलको बेन गुरिओन विमानस्थलमा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा इजरायली सरकारका प्रतिनिधि, तेल अभिभस्थित नेपाली राजदूतावासका अधिकारी, इजरेलमा कार्यरत नेपाली र हमास समूहद्वारा बन्धक बनाइएका व्यक्तिका परिवारका प्रतिनिधिलगायत सहभागी भएका थिए।

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाँसीका बासिन्दा विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कैलालीस्थित टीकापुर कृषि क्याम्पसबाट ४९ जना विद्यार्थीको टोलीमा २०८० भदौ अन्तिम साता इजरायल गएका थिए।
यसैबीच २०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिए भने विपिन अपहरणमा परे। हमासले फालेको ‘ग्रिनेड’ फाल्दै साथी जोगाउने खोज्दा विपिनलाई हमासले बन्धक बनाएर गाजा पुर्याएको थियो।
किबुज क्षेत्रमा रहेको कृषि फार्ममा १७ नेपाली विद्यार्थी बस्थे। विपिनको मृत्यु पुष्टि भएसँगै हमासको आक्रमणमा मारिने नेपालीको संख्या ११ पुगेको छ।
Shares

प्रतिक्रिया