उर्लिएको रोशीको भेलमा जबर्जस्ती गाडी हालेर यात्रुको ज्यान जोखिममा पार्ने पाँचजना चालकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ।
गाडीसँगै खोलामा फसेका ८९ यात्रुको भने मध्यराति सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
मंगलबार (हिजो) साँझदेखि भएको वर्षाको कारण रोशी खोलाको बहाब बढ्दा पाँच वटा माइक्रोबस रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा फसेका थिए।
पूर्वतर्फबाट काठमाडौँ आउँदै गरेका ५ वटा माइक्रोबसका ८९ जना यात्रु खोलामा फसेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारमा खटिएको थियो।
सुरक्षा निकायहरूको संयुक्त प्रयासमा बुधबार (आज) बिहान करिब १ बजे सबै यात्रुको सफल उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिए।
उद्धार कार्यका क्रममा नेपाल प्रहरी र ट्राफिक प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी साधन रोक्न निर्देशन दिएका थिए।
तर सो निर्देशन अवज्ञा गर्दै लापरवाहीपूर्वक सवारी चलाएर यात्रुको ज्यान र धनमा जोखिम पुर्याएको भन्दै पाँचवटै माइक्रो बसका चालकलाई नियन्त्रणमा लिइएको विष्टले बताए।
नियन्त्रणमा लिइएका चालकहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
सोमबारको वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि काठमाडौँतर्फ आउँदै गरेका गाडीहरु रोकिएका थिए। उद्धारका लागि प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीलगायत सुरक्षा निकायका प्रमुखसमेत खटिएका थिए।
बर्सातपछिको बाढीले रोशी क्षेत्रमा विपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सुरक्षा निकायले सोमबार साँझ ५ः०० बजेदेखि उक्त क्षेत्रमा आवागमन बन्द गराएको थियो। राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरिएको थियो।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीले सुरक्षित स्थानमा रोक्दारोक्दै लापर्वाहीपूर्ण तरिकाले उनीहरु यात्रुको जीउधनलाई बेवास्ता गर्दै सवारी चलाएका प्रहरीले जनाएको छ।
बेमौसमी वर्षाका कारण पटकपटक रोशी खोलाको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगररपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको छ।
गतसालको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो। हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।










सबै तस्बिर नेपाल प्रहरी
Shares

प्रतिक्रिया