विभिन्न जिल्लामा भएका मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
काठमाडौँ, महोत्तरी र रौतहटमा भएका मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु भएको हो।
काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर जडिबुटी सडक खण्डमा बा.प्र.०२-०६० प १२७५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-९ घर भएका ४३ वर्षीय भुवन गुरूङ छन्।
सोमबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी महोत्तरीको गौशाला नगरपालिका-४ ठाकुर पोखरीमा बीआर ३० यु ४४९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
सोमबार राति भएको दुर्घटना हुँदा गौशाला नगरपालिका-३ नवराजपुर बस्ने २५ वर्षीय सुवेश कुमार यादवको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल गौशालामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी मोटरसाइकल चालक हुन्।
त्यसैगरी रौतहटको परोहा नगरपालिका-६ कोप्वामा बीआर ०५ एएच २८७७ नम्बरको मोटरसाइकल र बा. ८१ प ६४४८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ।
सोमबार राति भएको दुर्घटनामा बीआर ०५ एएच २८७७ नम्बरको मोटरसाइकलमा सवार परोहा नगरपालिका-३ तेजापाकड बस्ने २२ वर्षीय सुरेन्द्र पासवानको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका बा. ८१ प ६४४८ नम्बरको मोटरसाइकलमा सवार मध्ये १ जनाको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि चितवनतर्फ रिफर गरिएको छ।
त्यसैगरी रौतहटकै कटहरिया नगरपालिका-४ बहादुरपुर टोलमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको म.प्र.०२-०३-११ प ३५०८ नम्बरको मोटरसाइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका-५ गमहरिया टोल बस्ने ३८ वर्षीया
रिंकु देवी ठाकुर रहेकी छन्। सोमबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि कटहरियास्थित प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
यी सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया