समाज


काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १५:२९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा आएका सबै फाइल अबको एक हप्ता अर्थात् सोमबारभित्र शून्य बनाउन निर्देशन दिएकी छन्।
 
महानगरका क्रियाकलापको पाक्षिक समीक्षा कार्यक्रममा आज उनले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर शून्य फाइल बनाउने नीति कार्यान्वयन गर्न निर्देशन दिएकी हुन्।

कार्यवाहक प्रमुख डङ्गोलले बजेट कार्यान्वयन गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्था भए, त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न  वडा सचिवहरूलाई समेत निर्देशन दिइन्।

‘बेरुजु शून्य बनाउन महत्त्वपूर्ण लगाव चाहिएको छ। राजस्व सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेछ। सार्वजनिक जग्गा अतिक्रमण हटाएर भएका सम्पत्तिको अभिलेखन प्रभावकारी बनाउनुपर्नेछ। पूर्वाधारका कामलाई गुणस्तर बनाउनुपर्नेछ। रातको समयमा सडकबत्ती निभ्न नदिने व्यवस्था मिलाउनु पर्नेछ। भू–प्रशासनलाई चुस्त बनाउनुपर्नेछ। वडामै महानगरको मुहार देखिने भएकाले यसतर्फ सबै संवेदनशील बनौँ’, उनले भनिन्। 

वित्त विभागका प्रमुख डा शिवराज अधिकारीले हालसम्म महानगरको खर्च प्रतिशत ४० दशमलव ९४ र वडाहरूको ३९ दशमलव तीन प्रतिशत रहेको जानकारी दिइन्। सबैभन्दा धेरै खर्च गर्ने वडाले ५७ दशमलव १७ प्रतिशत प्रगति गरेको, त्यसपछि ५६ दशमलव ४७ र ५० दशमलव ६२ प्रतिशत खर्च भएको उनले बताइन्। 
 
यसैगरी सबैभन्दा कम खर्च गर्ने वडाको खर्च १३ दशमलव २१ प्रतिशत रहेको छ भने त्यसभन्दा बढी खर्च गर्नेमा दोस्रोको १६ दशमलव ८१ र तेस्रोको खर्च प्रतिशत १७ दशमलव ६८ प्रतिशत छ। 

महानगरले वडालाई ठूला, मझौला र साना गरी तीन प्रकृतिमा विभाजन गरेर बजेट विनियोजन गर्ने गरेको छ। वडा नं १, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २६, ३१ र ३२ गरी १५ वडा ठूला, २, ५, ८, १२, १७, २२, २४, २५, २८, २९ र ३० गरी ११ वडा मझौला र बाँकी १८, १९, २०, २१, २३ र २७ लाई साना वडामा राखिएको छ। 

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रबाहेक अन्य वडास्तरीय क्षेत्रगत विकासका लागि ठूला वडालाई रु १० करोड, मझौलालाई रु सात करोड ५० लाख र साना वडालाई रु पाँच करोड  बजेट विनियोजन गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad