समाज


देशभर विभिन्न स्थानमा वर्षा अनि यी प्रदेशमा हुरीको पनि सम्भावना

देशभर विभिन्न स्थानमा वर्षा अनि यी प्रदेशमा हुरीको पनि सम्भावना

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार ८:२८, काठमाडौँ

हाल (बुधबार बिहान) देशभर साधारणतया बादल लागिरहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।

अनि कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान, मधेस प्रदेशसहित बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही जिल्लामा हावाहुरी/असिना/मेघगर्जन/चट्याङको पनि सम्भावना छ। 

मौसम महाशाखाका अनुसार आज राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।

अनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

यस क्रममा आज काठमाडौँ उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।

‘आज पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ’, नेपालखबरसँग उनले भने, ‘आज दिनभर काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लाग्नेछ यद्यपि बेलाबेला घाम पनि देखिनेछ।’ 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad