ad ad

खेल


एन्फा टेक्निकल सेन्टरमा गण्डकी सरकारको चासो

एन्फा टेक्निकल सेन्टरमा गण्डकी सरकारको चासो

वाशुदेव मिश्र
कात्तिक ५, २०७८ शुक्रबार १९:५२, काठमाडौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ मा प्रस्ताव गरिएको एन्फा टेक्निकल सेन्टर निर्माणस्थलको शुक्रबार अवलोकन गरेका छन्। 

कास्की मात्रै होइन गण्डकीकै र नेपालकै लागि गौरव हुने गरी पोखरा नजिकै अखिल नेपाल फुटबल संघले एन्फा टेक्निकल सेन्टरको अवधारणा अघि सारेको हो। फिफाको लगानीमा बन्ने उक्त सेन्टरको प्रारम्भिक पूर्वाधारका लागि गण्डकी प्रदेश सरकारले पनि लगानी गर्ने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले जनाएका छन्। 

माछापुच्छ्रे गाउँपालिकाअन्तर्गत मर्दी र इदी खोलाको बीचमा रहेको खुला ठाउँमा सेन्टर प्रस्ताव गरिएको प्रदेशको क्षमता अनुसार तटबन्धका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए। 

एन्फाका प्रमुख कार्यकारी अधिकृत गोकुल थापाले ३ सय ४२ रोपनी जग्गा २० वर्षका लागि भोगचलन गर्नेगरी सम्झौता भइसकेकोको जानकारी गराए। डीपीआर तयार भइसकेर वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर मन्त्रालयमा बुझाइसकेको भन्दै अब छिटै शिलान्यासको बताए।

उनका अनुसार अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय रहने गरी संरचना बनाउने प्रस्ताव पारित भएको छ। 

‘ड्रिम प्रोजेक्ट’ को रुपमा निर्माण गर्ने भनिएको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ। ८० जना बालबालिकालाई अभ्यासका लागि पनि राख्ने योजना छ। अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरेर सेन्टरलाई ४ चरणमा सक्ने तयारी छ।

फिफाले एन्फाका लागि पठाएको २० लाख डलरबाट उक्त सेन्टर बनाउने योजना एन्फाको छ। पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ प्रयोग गरिने प्रमुख कार्यकारी अधिकृत थापाले बताए। 

प्रस्तावित ठाउँ इदी र मर्दी खोलाको दोभानमा छ। हिउँदमा सानो हुने तर बर्खामा उर्लेर आउने मर्दी खोलाले कटान गर्ने भएकाले तटबन्धको काम भने पहिले नै गर्नुपर्ने हुन्छ।

यसमा फिफाले लगानी गर्दैन। तटबन्धका लागि गाउँपालिका र निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५०-५० लाख रुपैयाँ गरी १ करोड रुपैयाँमा काम भइसकेको पालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी गराए।

उनका अनुसार तटबन्धका लागि साढे ४ करोड रुपैयाँ आवश्यक पर्छ। एन्फा कास्की अध्यक्ष मिलन गुरुङले यो परियोजनालाई कमजोर बनाउन चारैतिरबाट आक्रमण भइरहे पनि आफूहरु निरन्तर लागिरहेकाले यो अवस्थामा आइपुगेको भनाइ राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .