खेल


ए डिभिजन लिग : जोगाउलान् नयाँ खेलाडीले थ्री स्टारको साख?

ए डिभिजन लिग : जोगाउलान् नयाँ खेलाडीले थ्री स्टारको साख?

लक्ष्मी जिसी
पुस २, २०७६ बुधबार ३:२,

घरेलु फुटबलमा सहिद स्मारक ए डिभिजन लिग होस् वा अन्य नकआउट फुटबल प्रतियोगिता, अधिकतर प्रतियोगिताको सदाबहार दाबेदारका रूपमा हेरिन्छ- ललितपुरको थ्री स्टार क्लबलाई।

थ्री स्टारसँगै साविक विजेता मनाङ मर्स्याङ्दी क्लब अर्काे दाबेदार हो। तर, यसपटक यी दुई टोलीले भन्दा बढी अन्य क्लबले फुटबलप्रेमीको ध्यान खिचेका छन्। जसमा मछिन्द्र क्लब मुख्य छ।

यसपटक ए डिभिजन लिगको पहिलो दिन मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै विजय सुरुवात गरिसकेको छ। मनाङबाट विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई, गोलकिपर विशाल श्रेष्ठलगायत महत्वपूर्ण खेलाडी मछिन्द्रमा गएका छन्।

थ्री स्टारबाट सुनील बल, गोलकिपर एलेन न्यौपानेले च्यासल क्लब रोजे। कतिलाई लागेको छ- यसपटक थ्री स्टार र मनाङको दाबेदारी पहिलाजस्तो हुने छैन।

लिगको पूरा सिजन यी दुई टोलीले कसरी प्रदर्शन गर्नेछन् भन्ने आज (बुधबार)को खेलले संकेत गर्नेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले अर्को ललितपुरे क्लब जावलाखेल युथ क्लबको सामना गर्नेछ।

यता दशरथ रंगशालामा मनाङले सशस्त्र प्रहरी टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ।। दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबबाहेक मुख्यतः थ्री स्टार र मनाङलाई लिगको दाबेदारका रूपमा हेर्ने परम्परा छ। यसपटक भने उपाधि दाबेदारको दायरा फराकिलो हुने अनुमान गरिएको छ।

केही खेलाडीले क्लब छाड्दैमा थ्री स्टार हिम्मत हार्ने पक्षमा छैन। योपटक पनि टोलीको लक्ष्य उपाधि जित्ने नै रहेको मुख्य प्रशिक्षक मेघराज केसी बताउँछन्। ‘असोजमै तयारी सुरु गरे पनि चाडबाडका कारण तिहारपछिबाट हामीले नियमित प्रशिक्षण गरेका छौं,’ प्रशिक्षक केसीले भने, ‘खेलाडीको नाम हेरेर मात्र टोली राम्रो हुन्छ भन्ने छैन। त्यसका लागि अन्य विषय पनि महत्वपूर्ण हुन्छन्।’

घरेलु फुटबलमा लामो समयदेखि नामका आधारमा भइरहेको उल्लेख गर्दै केसी थप्छन्, ‘तर नामले मात्र फुटबल खेलिन्न। नामले नै खेल्ने भए अन्तर्राष्ट्रिय फुटबलमा नयाँ खेलाडी आउने नै थिएनन्।’

घरेलु फुटबलका स्टारलाई लिने क्लबहरुमा होड चल्दा थ्री स्टार किन पछि परेको भन्ने प्रश्नमा प्रशिक्षक केसीको जवाफ छ, ‘योपटक हामीले खेलाडी नामभन्दा पनि कामलाई विश्वास गरेका छौँ।’

कप्तान विक्रम लामा, अनन्त तामाङ, मिक्छेन तामाङ, रुपेश केसीबाट टोलीले बढी आशा गर्ने नै भयो । १९ वर्षमुनिका केही खेलाडी टोलीमा पनि समेटिएका छन्। त्यसबाहेक ३ विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरेर टोलीले चुनौती पेस गर्ने तयारीमा छ। तीन विदेशीमध्ये २ जना पहिलोपटक नेपालमा लिग खेल्न लागेको थ्री स्टारले जनाएको छ।

केही वर्षयता नेपालमा जुन क्लबले प्रभावशाली विदेशी खेलाडी भित्र्याएका छन्, तिनले अन्य क्लबलाई दबाब दिइरहेको देखिन्छ। विदेशी खेलाडी नेपालीभन्दा हाबी देखिनाको कारण खोतल्दै प्रशिक्षक केसीले थपे, ‘नेपालमा धेरै अफ्रिकी खेलाडी खेल्छन्। तुलनात्मक रूपमा उनीहरु फिजिकल खेल खेल्छन्। त्यसैले सबैको नजर उनीहरुमा पर्छ। तर नेपाली खेलाडीको प्रदर्शन पनि कमजोर छैन।’

फुटबल विकासको मेरुदण्डका रूपमा मानिन्छ- लिग। तर, नेपालमा नियमित लिग हुन सकेको छैन। कहिले वर्षौँ लिग हुँदैन, भइहाले कहिले ए डिभिजन लिग हुन्छ कहिले राष्ट्रिय लिग। गत वर्ष त नेपालको इतिहासमै पहिलोपटक बिनारेलिगेसनको लिग भएको थियो।

यसपटक भने रेलिगसेनसहितकाे लिग हुँदै छ। लगातार दोस्रो वर्ष लिग हुँदा खेलाडीमा उत्साह बढेको मान्छन्, थ्री स्टारका कप्तान विक्रम लामा ।

‘विगतमा राष्ट्रिय टोलीमा रहेका खेलाडीको बाहुल्य क्लबमा रहन्थ्यो । यसपटक संख्यात्मक रूपमा त्यस्ता खेलाडी कम छन्, उनले भने, त्यसका बाबजुद हामी उपाधिका लागि नै प्रतिस्पर्धा गर्ने लक्ष्यमा छौं।’

यद्यपि टोलीको तयारी भने सन्तोषजनक हुन नसकेको उनले बताए। ‘हामीले धेरै राम्रो तयारी त गर्न पाएका छैनौं। तर पनि हामीलाई आफ्नो टोलीमा विश्वास छ। हामी मैदानमा राम्रो खेल देखाउने प्रयास गर्नेछौं,’ उनले भने, ‘अनुभवी खेलाडीको कमी छ। तर यस्तै बेला आफूलाई प्रमाणित गर्नुपर्छ। हामी त्यसका लागि तयार छौँ।’ विक्रमका नजरमा मछिन्द्र र विभागीय टोली लिगका दाबेदारमध्येका हुन्।

अनन्तले रोजे थ्रीस्टार
थ्री स्टार र मनाङमा दोहोरो सम्झौताका कारण अनन्तले गत वर्षको लिग गुमाउनुपरेको थियो। यसपटक भने उनले त्यो गल्ती दोहोर्‍याएनन् र बेलैमा थ्री स्टारबाट खेल्ने निर्णय गरे। प्रशिक्षक केसी र कप्तान विक्रमले पनि उनको उच्च प्रदर्शनको आशा गरेका छन्।

‘गत वर्ष खेल्न नपाएको पीडा मैले बिर्सेको छैन। त्यतिबेला एन्फा एकेडेमीबाट निस्केको केही समय भएको थियो। लिग खेल्न उत्साहित थिएँ। तर आफ्नै गल्तीका कारण खेल्न पाइनँ,’ उनले स्मरण गरे, ‘झन्डै डिप्रेसनमा जाने अवस्थामा समेत पुगेको थिएँ।’

राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यसमेत रहेका अनन्तले अनुभव कम भएका खेलाडीसँग खेल्दा केही कठिन हुने भए पनि जुनियर खेलाडीलाई प्रोत्साहन गर्न र उत्कृष्ट नतिजा दिन प्रयास गर्ने सुनाए।

‘भर्खर साग टोलीबाट फर्केका छौं, तयारी राम्रै छ। राष्ट्रिय टोलीबाट खेल्दा सबै टोलीका राम्रा खेलाडी आएका हुन्छन् तर क्लबमा त्यस्तो त हुँदैन,’ उनले थपे, ‘यो टिमगेम हो। एक जनाले मेहनत गरेर मात्र हुन्न। हामी सबैले मिलेर सामूहिक प्रयास गर्ने हो भने पक्कै सफल नतिजा निस्कन सक्छ।’

थ्रीस्टारको लिग यात्रा
२०३९ सालमा ए डिभिजन लिगमा बढुवा भएको थ्री स्टार क्लब घरेलु फुटबलमा समर्थकहरुले बढी पछ्याउने क्लबमध्ये एकमा पर्छ। सहिद स्मारक लिग तीनपटक जितेको थ्री स्टारले एक समय अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको कुनै पनि प्रतियोगितामा भाग नलिने अलोकप्रिय निर्णय पनि गर्नुपरेको थियो।

पहिलोपटक २०५४ मा ए डिभिजन लिग जितेको थ्री स्टार २०६१ र २०६९ मा पुनः च्याम्पियन बनेको थियो। २०६१ को च्याम्पियनको हैसियतमा थ्री स्टारले पहिलोपटक एएफपी प्रेसिडेन्ट्स कपमा नेपालको प्रतिनिधित्व गरेको थियो।

क्लबलाई उचाइ दिने मुख्य भूमिका पूर्वअध्यक्ष ललितकृष्ण श्रेष्ठको थियो। तर, २०७२ को जेठमा करेन्ट लागेर उनको मृत्यु भएपनछि क्लबले पुरानै छविलाई कायम राख्नेमा शंका गरिएको थियो। क्लबका अन्य पदाधिकारीले शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने अठोट लिए। त्यसमा क्लब सफल पनि भयो र सोही वर्ष राष्ट्रिय लिग च्याम्पियन बन्यो।

त्यही च्याम्पियनको हैसियतमा टोलीले एएफसी कप खेल्ने अवसर पायो। पहिलो चरण पार गरे पनि एन्फाको कमजोरीका कारण दोस्रो चरण खेल्नबाट थ्रीस्टार वञ्चित भयो। त्यसकै कारण टोलीले विरोधस्वरुप क्षतिपूर्ति नपाउँदासम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगिता र कार्यक्रममा भाग नलिने निर्णयसमेत गरेको थियो।

पछि १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति एन्फाले दिएपछि थ्री स्टार पुनः फुटबलमा फर्केको थियो। थ्री स्टार र मनाङ घरेलु फुटबलका लोकप्रिय क्लब मानिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad