गायिक झुमा लिम्बूले राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षकविरुद्ध अभद्र शब्दमा टिप्पणी गरेकी छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा झुमाले प्रशिक्षक प्याट्रिक डे वाइल्डको क्षमता र रुप रङमाथि नै अभद्र टिप्पणी गरेकी हुन्।
वाइल्ड प्रो ए लाइसेन्स प्राप्त महिला टोलीका पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक हुन्। गायिक लिम्बूले उनलाई जनावरसँग तुलना गर्दै कसले प्रशिक्षक बनाएको हो भन्दै प्रश्न गरेकी छन्।
उनले लेखेकी छन्, ‘त्यस्तो नाथे खुइले बाँदर कसले कोच बनाएर ल्या'को? कि यस्तो मिलेको टिम फुटाउन कुनै हाम्रै बाँदरले खुइले बाँदरको काँधबाट बन्दुक पड्काउँदै छ। केटाकेटिको चित्त नदुखाओ न औतारी हो। देशकै पो चित्त दुख्यो त!’
झुमा लिम्बू ‘उनको सुइटर’ चलचित्रको 'फकाउँछ काफ्ले' गीतसँगै थप चर्चामा छिन्। तर तीनै गायिक लिम्बूले राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षकमाथि भने अभद्र टिप्पणी गरेकी हुन्।
प्रशिक्षक वाइल्डले उज्वेकिस्तानमा राष्ट्रिय महिला फुटबल टिमको कप्तान परिवर्तन गरेका थिए। उनले गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई बेन्चमा राख्दै फर्वाड सावित्रा भण्डारी 'साम्बा'लाई कप्तानको जिम्मेवारी दिएपछि उज्वेकिस्तानमै एन्फा व्यवस्थापनसँग विवाद भएको थियो।
प्रशिक्षक वाइल्डले एन्फाले खेलाडीका लागि आधारभूत सेवा सुविधा पनि दिन नसकेको र अनावश्यक हस्तक्षप गरेको गुनासो गरेका छन्। यता अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिनिधिले वाइल्डविरुद्ध बुधबार पत्रकार सम्मेलन नै गरेका थिए।
एन्फासँगको विवादपछि वेल्जियम गएका प्रशिक्षक वाइल्ड नेपाल फर्किने वा नफर्किने भन्ने अनिश्चित बनेको छ। नेपाली टोली भने तीनमध्ये २ खेलमा विजयी हुँदै स्वदेश फर्किसकेको छ।
श्रीलंका र लावसलाई फराकिलो अन्तरमा पराजित गरेको नेपाल उज्वेकिस्तानसँग ३–३ को बराबरीपछि टाइब्रेकरमा पराजित भएको थियो। यो हारसँगै नेपाल एसियाकपबाट बाहिरिएको छ। उज्वेकिस्तान नेपालभन्दा निक्कै बलियो टोली हो।

Shares

प्रतिक्रिया