खेल


अन्तिम खेलपछि जिम्मी निशमले भने- अर्को वर्ष भेटौंला

अन्तिम खेलपछि जिम्मी निशमले भने- अर्को वर्ष भेटौंला

नेपालखबर
मंसिर १३, २०८२ शनिबार २१:३५, काठमाडौँ

पोखरा एभेन्जर्सबाट शनिबार अन्तिम खेल खेलेपछि न्यूजिल्यान्डका खेलाडी जिम्मी निशमले अर्को वर्ष भेट्ने वाचा गरेका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार जिम्मीले लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए। उनले ३२ बलमा तीन चौका र तीन छक्का प्रहार गरी ५१ रन बनाए। 

त्यस्तै, जिम्मीले एक विकेट पनि लिए। उनले दुई ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए। तथापि, पोखरा भने लुम्बिनीसँग तीन विकेटले पराजित भयो। 

उनी यस सिजनको एनपीएलका लागि चार खेल खेल्न पोखरासँग आवद्ध भएका थिए। शनिबार अन्तिम खेल खेलेसँगै उनी न्यूजिल्यान्ड फर्किनेछन्। 

उनले नेपाल बसाइँ राम्रो भएको बताएका छन्। शनिबार साँझ इन्स्टाग्राममा नमस्ते गरेको तस्बिर राख्दै जिम्मीले नेपाल बसाइँबारे लेखेका छन्, ‘छोटो तर मिठो। धन्यवाद नेपाल।’

अर्को वर्ष फेरि खेल्न आउने बाचा पनि गरेका छन्। जिम्मीले नेपालीमै लेखेका छन्, ‘अर्को वर्ष भेटौंला।’

पहिलो खेलमा उनी चल्न सकेका थिएन। विराटनगर किंग्सविरुद्धको खेलमा शून्यमा आउट भएका थिए। बलिङ पनि राम्रो भएको थिएन। त्यो खेलमा पोखरा पराजित भएको थियो। 

सुदूरपश्चिम रोयल्सविरुद्धको दोस्रो खेलमा उनले ४७ रन बनाएका थिए। त्यस्तै, तीन विकेट पनि लिएका थिए। जिम्मीले राम्रो प्रदर्शन गरेपछि पोखरा सुदूरपश्चिमसँग पराजित भएको थियो। 

जनकपुर बोल्टविरुद्धको तेस्रो खेलमा उनको ब्याट चलेन। एक रनमै आउट भए। बलिङमा भने राम्रो गरेका थिए। उनले दुई ओभर बलिङ गर्दा एक विकेट लिएका थिए। त्यो खेलमा पोखरा विजयी भएको थियो। 

आज चौथो खेलमा लुम्बिनीविरुद्ध अर्धशतक बनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad