खेल


निर्वाचन गराएरै छाड्ने पक्षमा एन्फा, बढ्न सक्छ राखेपसँग विवाद

निर्वाचन गराएरै छाड्ने पक्षमा एन्फा, बढ्न सक्छ राखेपसँग विवाद

लक्ष्मी जि.सी
चैत २, २०८२ सोमबार ७:२२, काठमाडौँ

पटक–पटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि तेस्रो पटक मिति तोक्दै प्रक्रिया अघि बढाइएको छ। यसपटक स्थगित भएन भने चैत १३ गते एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचन हुने एन्फा निर्वाचन समितिले जनाएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई बेवास्ता गर्दै निर्वाचन समितिले शनिबार अन्तिम मतदाता नामावली समेत सार्वजनिक गरिसकेको छ। सोही कारण निर्वाचन भएमा विवाद हुने सम्भावना समेत देखिएको छ।

वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ र उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) अध्यक्षको प्रतिस्पर्धामा छन्। औपचारिक रुपमा घोषणा नभए पनि दुवै पक्षले आफ्नै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फाले राखेपको निर्देशन नमानी निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाएका छन्। उनका अनुसार कानुनी प्रक्रियाअनुसार तहगत निर्वाचन गरेर अघि बढ्नुपर्ने राखेपको धारणा भए पनि एन्फाले फरक बाटो रोजेको छ। उनले अदालत, फिफा र एएफसीको निर्णयबारे पत्र आएपछि थप छलफल गर्ने बताए। 

एन्फा प्रवक्ता सुरेश शाहले भने फिफा र एएफसीको विधानअनुसार नै निर्वाचन प्रक्रिया अघि बढाइएको दाबी गरेका छन्। उनका अनुसार फिफा र एएफसीबाट आएको पत्र राखेपलाई पठाइनेछ र यदि अन्तर्राष्ट्रिय निकायले निर्वाचन रोक्न निर्देशन दिएमा एन्फा त्यसका लागि तयार छ।

४ वर्षे कार्यकाल पूरा नहुँदै निर्वाचन गर्न लागेको एन्फा यसअघि दुई पटक निर्वाचन स्थगित गर्न बाध्य भएको थियो। एन्फा कार्यसमितिको पुस १६ गते बसेको बैठकले माघ २८ गते निर्वाचन गर्ने निर्णय गरेको थियो।

तहगत निर्वाचन हुनुपर्ने भन्दै निर्वाचन रोक्न एन्फाकै उपाध्यक्ष विराटजंग शाहीले दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि माघ २८ गतेको निर्वाचन रोकिएको थियो। त्यति बेलासम्म मनोनयन दर्ता भइसकेको थियो। निर्वाचन समितिले सोही मनोनयनलाई यथावत् राखेको छ।

उच्चले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि एन्फाको निर्वाचन समितिले फागुन २७ गतेका लागि निर्वाचन मिति तोकेको थियो।

एन्फाकै सदस्य रुपेश अधिकारीको निवेदनमा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएकाले निर्वाचन रोक्न पत्राचार गरेको थियो।

त्यसलाई अटेर गर्दै अघि बढेको एन्फामा सुरक्षाकर्मी परिचालन गरेपछि एन्फा निर्वाचन रोक्न बाध्य भएको थियो। 

फागुन २१ गते संसदीय निर्वाचन सकिएको भोलिपल्टै एन्फा निर्वाचन समितिले पुनः निर्वाचित प्रक्रिया अघि बढाएको थियो। यसबीचमा राखेपले निर्वाचन प्रक्रिया रोक्न दिएको निर्देशनलाई एन्फाले अटेर गरेर अघि बढेको छ।

एन्फाको सस्थापन एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै अर्काे पक्षले पनि चुनावी मैदानमा उत्रिने निर्णय गरेको छ। 

अध्यक्षका प्रत्याशी केसीले सरकारको कानुन र राखेपको निर्देशनअनुसार तहगत निर्वाचन गरेर अघि बढ्नुपर्ने आफूहरूको धारणा रहेको बताएका छन्। तर प्रक्रिया रोक्न नसकेपछि चुनावमै प्रतिस्पर्धा गर्ने निर्णयमा आफूहरु पुगेको उनले बताए।

यस निर्वाचनमा एन्फाको १ वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय दावा लामा, दीपक खतिवडासहित साफका उपाध्यक्ष सुन्दरनरसिंह जोशीले उम्मेदवारी दिएका छन्।

४ उपाध्यक्षका लागि १० जनाको मनोनयन परेको छ। खुला १३ कार्यसमिति सदस्य पदका लागि २८ जना तथा २ महिला सदस्यका लागि ४ जनाले उम्मेदवारी दिएका छन्। 

एन्फा निर्वाचनमा सदस्य संस्था जिल्ला, प्रदेश, ए, बी, सी क्लब तथा खेलाडी, प्रशिक्षक, महिला र रेफ्री संघका गरी ८८ जनासँग मताधिकार रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad