खेल


क्यानको आर्थिक पक्षलाई लिएर नियोजित रूपमा भ्रम फैलाइयो: सचिव खड्का

क्यानको आर्थिक पक्षलाई लिएर नियोजित रूपमा भ्रम फैलाइयो: सचिव खड्का

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १९:५६, विराटनगर

विराटनगरमा आयोजित नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले क्यान र नेपाल प्रिमियर लिग (एनपीएल)को आर्थिक पक्षलाई लिएर नियोजित रूपमा भ्रम फैलाइएको दाबी गरेका छन्।
विराटनगरमा आयोजित नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारण सभामा सहभागी हुन आइपुगेका खड्काले कसैलाई संस्थाको काम गर्ने शैली मन नपर्ने बित्तिकै अख्तियारमा बेनामी उजुरी गर्ने र मिडियाबाजी गर्ने प्रवृत्ति हावी भएको टिप्पणी गर्दै यस्ता गतिविधिले क्रिकेटको छविमा आँच पुर्‍याउने बताए। 

हिसाबको पारदर्शीताबारे उठेका प्रश्नको जवाफ दिँदै उनले विवरण हेर्न चाहने सदस्यहरूलाई कार्यालयमै आएर कागजात अध्ययन गर्न आह्वान गरिएको तर संस्थाका गोप्य डकुमेन्टहरू इमेलमार्फत जथाभावी पठाउने प्रावधान नरहेको स्पष्ट पारे। 

क्यानले सबै आवश्यक कागजातहरू सम्बन्धित निकायमा बुझाइसकेको र संस्थाभित्र कुनै राजनीतिक हस्तक्षेप नरहेको दाबी गर्दै उनले एनपीएलले नेपाली क्रिकेटमा ल्याएको व्यावसायिकतालाई सबैले कदर गर्नुपर्नेमा जोड दिए।

साथै उनले तल्लो मूलपानी मैदानलाई क्यानको स्वामित्वमा ल्याउन पहल भइरहेको र विराटनगरको बैजनाथपुर मैदान विकासका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको जानकारी समेत दिए।

यद्यपि, क्यानका पदाधिकारीहरूले सबै प्रक्रिया सही भएको दाबी गरिरहँदा युवा तथा खेलकुद मन्त्रालयले भने संघविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेपछि विवाद झन् उत्कर्षमा पुगेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेका लेखा तथा श्रेस्ता सम्बन्धी विवरण र कागजातहरू उपलब्ध नगराएको भन्दै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई तत्काल आवश्यक कारबाही सुरु गर्न निर्देशन दिएको हो।

पटक पटकको पत्राचारलाई अटेर गरेको र विवरण बुझाउन अस्वीकार गरेको गम्भीर आरोप लगाउँदै मन्त्रालयले क्यानलाई अन्तिम चेतावनीसहित स्पष्टीकरण सोध्न भनेको छ। 

राष्ट्रिय खेलकुद विकास ऐन अनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिँदै मन्त्रालयले यदि क्यानको जवाफ चित्तबुझ्दो नआएमा संस्थालाई निलम्बनसम्म गर्न सकिने कडा चेतावनी दिएपछि नेपाली क्रिकेट प्रशासनमा ठूलो हलचल पैदा भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad