सन् २०१६ ताका कक्षा १० मा पढ्ने प्रशंसा सुवेदी मह स्टुडिओ पुगिन्। त्यहाँ उनी कुनै सुटिङका लागि होइन्, आफूलाई मनपर्ने अभिनेत्रीलाई एक झलक हेर्ने पुगेकी थिइन्।
‘होस्टेल रिटर्न्स’ हेरेदेखि नै प्रशंसालाई स्वस्तिमा खड्का औधी मन पर्ने। उनै स्वस्तिमालाई भेट्न प्रशंसा ‘छक्का पञ्जा २’ को सुटिङ सेटसम्म पुगिन्। जहाँ केही बेरको पर्खाइपछि उनले स्वस्तिमालाई भेटिन्। र, आफू क्रेजी फ्यान भएको बताउँदै फोटो समेत खिचाइन्।
‘उहाँको पहिलो फिल्म ‘होस्टेल रिटर्न्स’ हेर्दा नै म निकै कनेक्ट भएको थिएँ। उहाँको दाँत र मेरो दाँत एउटै छ। उहाँ पनि निकै दुब्ली, म पनि त्यस्तै। उहाँको चुलबुलेपन देख्दा मलाई आफूजस्तै लाग्थ्यो। त्यही भएर म उहाँको क्रेजी फ्यान थिएँ,’ उनले भनिन्।
तर, ती क्रेजी फ्यान प्रशंसाले हिरोइन बन्छु भनेर सायदै सोचेकी थिइन्। अझ स्वस्तिमासँग स्क्रिन सेयर गर्छु भन्ने त परको कुरा। समयको चक्र न हो, कन्टेन्ट क्रियटर प्रशंसाको यात्रा अचानक फिल्मतिरै मोडियो।
कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँ प्रशंसाका छिमेकी अकंल हुन्। काठमाडौँमा रानीवनमा बस्ने प्रशंसासँग उनको पुरानै चिनजान थियो। उनै बानियाँले एकदिन उनलाई फिल्मको लागि प्रस्ताव गरे। फिल्मको कथाबारे कुरा गरे पनि फिल्मको नाम र कलाकारबारे भने खुलाएका थिएनन्।
बानियाँको षट्कोण आर्ट्सबाट जात्रा लगायतका फिल्महरू हिट छन् भन्ने प्रशंसालाई थाहा थियो। राम्रो टिम भएकाले उनले सुरुमै हुन्छ भनिन्। त्यसपछि बल्ल रवीन्द्रले ह्वाट्सएपमा फिल्मको पोस्टर पठाए। जुन पोस्टरमा थिइन् उनकै मनपर्ने अभिनेत्री स्वस्तिमा खड्का। उनी गर्भवती महिलाको भूमिकामा थिइन्। ‘लाली बजार’ को त्यो फस्टलुक पोस्टर सामाजिक सञ्जालमा छाएको थियो।
त्यसपछि रवीन्द्रले प्रशंसालाई भने, ‘यो पेटभित्र भएको बच्चा चाहिँ तिमी हौ। फिल्ममा तिम्रो महत्त्वपूर्ण रोल हुन्छ।’
यति सुनेपछि प्रशंसामा खुसीको सीमा रहेन। उत्साहित हुँदै उनले बानियाँलाई आफूले जसरी पनि काम गर्ने सुनाइन्। त्यसपछि बानियाँले फिल्मको अडिसनका लागि षट्कोण आर्ट्सको अफिसमा बोलाए। जब प्रशंसा लुक–टेस्टका लागि अफिस पुगिन्, त्यहाँ स्वस्तिमा खड्का नै उपस्थित थिइन्।

प्रशंसाको लुक टेस्ट गरियो। निर्देशक र निर्माताले उनलाई स्वस्तिमासँगै उभ्याएर फोटो खिचे। उनीहरूको लुक हेरेपछि भने: तिमीहरू त ठ्याक्कै आमा–छोरी जस्तै देखिन्छौ।
आफ्नो मन थाम्न सकिनन्। र, फ्याट्ट स्वस्तिमालाई भनिन्, ‘दिदी, म तपाईंको कस्तो ठुलो फ्यान हुँ। १० वर्षअघि मह स्टुडियोको गेटमा तपाईंलाई कुरेर मैले फोटो खिचेको थिएँ।’
स्वस्तिमाले याद गर्न सकिनन्। तर, आफ्नो फ्यान सह–कलाकार बनेर आउँदा उनी खुसी भइन्। यसरी आफूलाई मनपर्ने हिरोइनसँग स्क्रिन सेयर गर्नुलाई रोचक संयोग ठान्छिन् प्रशंसा।
‘एकदम खुसी लागिरहेको छ। युनिभर्सले डोर्याउँदो रहेछ जस्तो महसुस भइरहेको छ। म स्वस्तिमा दिदीसँग भेटेर मुभी नै खेल्छु भन्ने लागेको थिएन।’
प्रशंसा चर्चित कन्टेन्ट क्रियटर हुन्। टिकटक र रिल्समा उनी समसामयिक र राजनीतिक विषयमा भिडिओ बनाउँथिन्। कहिले बालेन शाहका स्ट्याटस त कहिले जेनजी आन्दोलनका विषयमा आफ्ना विचार राख्थिन्। जुन भिडिओकै कारण उनी सामाजिक सञ्जाल प्रयोगकर्तामाझ परिचित थिइन्।
‘मलाई क्यामेराको अगाडि बस्न त मन पर्थ्यो, तर त्यो सोख टिकटक र भिडिओ कन्टेन्ट बनाउनमा मात्र सीमित थियो। हिरोइन बन्छु भनेर चाहिँ आको थिइनँ। तर बाथरुमको ऐनाअगाडि बसेर रुँदा कस्तो देखिन्छु भनेर एक्टिङ चाहिँ गरिरहेको हुन्थेँ,’ उनले भनिन्।

प्रशंसाको त्यही चुलबुलेपन र क्यामेराप्रतिको लगावलाई रवीन्द्रले नोटिस गरिरहेका थिए। जसकारण ‘लाली बजार’को लागि अफर गरे।
कानुन विषयमा अध्ययन गरिरहेकी प्रशंसालाई नजिर पढ्दा वादी समुदायबारे थाहा थियो। ‘हेर्ने कथा’ का भिडिओहरूबाट उनले थप जानकारी पाइन्। तर, जब उनी फिल्मको सुटिङका लागि बर्दिया पुगिन्, त्यहाँको वास्तविक पीडा बुझिन्।
‘कानुन पढ्ने बेलामा चाहिँ वादी समुदायको एउटा नजिर पढ्नुपरेको थियो। त्यहाँ वादीबारे थाहा पाएकी थिएँ, बुवाबारे जानकारी नहुँदा उहाँहरूमा नागरिकताको इस्यु छ भन्ने थाहा थियो,’ प्रशंसाले भनिन्, ‘बर्दिया पुगेपछि मैले त्यहाँ वादी समुदायका म जस्तै छोरीहरूलाई भेटेँ। उनीहरू पढ्नका लागि भारतसम्म पुग्दा रहेछन्, कोही निकै राम्रो नाच्दा रहेछन्। धेरैलाई लाग्छ- यो पेसा उनीहरू रहरले गर्छन्, तर त्यहाँ पुगेपछि थाहा भयो यो त रहर होइन, एउटा गहिरो ट्रमा र बाध्यता रहेछ।’
उनका अनुसार पछिल्लो पुस्ताका वादी महिलाहरू शिक्षित र सशक्त बन्दैछन्। यद्यपि, समाजको हेय दृष्टि र नागरिकता जस्ता मुद्दाहरूमा अझै पनि राज्यको ध्यान पुग्न नसकेको उनको भनाइ छ।
फिल्ममा एउटा यस्तो दृश्य छ, जहाँ आमा र छोरीको हृदयविदारक संवाद हुन्छ। त्यो दृश्यमा अभिनय गर्दा उनी निकै भावुक भइन्। जसले गर्दा रुनको लागि ग्लिसिरिनको सहारा लिनुपरेन।
प्रशंसाले कुनै अभिनय प्रशिक्षिण लिएकी छैनन्। तर, ४० दिनको सुटिङमा आफूलाई कहिल्यै दबाब महसुस नभएको सुनाउँछिन् उनी।
भन्छिन्, ‘मलाई कुनै सिन भनिन्थ्यो, म त्यही अनुसार रियाक्ट गर्थेँ। कतिपय गाह्रो सिनमा स्वस्तिमा दिदीलाई सोध्थेँ। उहाँले मलाई गाइड गर्नुहुन्थ्यो। साँच्चै भन्नुपर्दा त्यो काम गरेको जस्तै भएन, सिक्दासिक्दै सुटिङ सकियो। मेरो लागि सेट नै पाठशाला बन्यो।’
वैशाख १८ गतेबाट हलमा लाग्ने तयारी गरेको ‘लाली बजार’विरुद्ध मुद्दा परेपछि अदालतले अल्पकालीन आदेश दिँदै प्रदर्शन रोकिदिएको थियो। बुधबार उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि फिल्म प्रदर्शनको बाटो खुलेको छ। वैशाख २५ बाट फिल्म हलमा लाग्नेछ।

डेब्यु फिल्मलाई लिएर प्रशंसा निकै उत्साहित छिन्। फिल्मको कथावस्तु बलियो भएकाले दर्शकहरूले मन पराउनेमा पनि ढुक्क सुनिइन् उनी।
‘यस फिल्मको कन्टेन्ट नै बलियो छ। जहाँ वादी समुदायको पीडा, बाध्यता र ट्रमालाई हामीले पर्दामा जुन इमानदारीका साथ उतार्ने प्रयास गरेका छौँ, त्यसलाई दर्शकहरूले पक्कै पनि रुचाउनुहुनेछ,’ उनले भनिन्।
पहिलो प्राथमिकता पढाइ भए पनि समय मिलेसम्म अभिनयमा सक्रिय हुने बताउँछिन् उनी। आगामी दिनमा कोसँग फिल्म खेल्ने इच्छा छ भन्ने प्रश्नमा उनको जवाफ प्रस्ट छ।
भन्छिन्, ‘मलाई अभिषेक खड्का दाइसँग स्क्रिन सेयर गर्ने ठूलो इच्छा छ। यदि भविष्यमा मौका मिल्यो भने उहाँसँग काम गर्न पाउँदा म निकै खुसी हुनेछु। अनमोल केसी पनि हो।’
Shares

प्रतिक्रिया