कला


१७ वर्ष अभिनय गरेकी सिर्जना, ‘सुन्तली’ बनेपछि पहिलोपटक चर्चामा

१७ वर्ष अभिनय गरेकी सिर्जना, ‘सुन्तली’ बनेपछि पहिलोपटक चर्चामा

लक्ष्मी बलायर
बैशाख १९, २०८३ शनिबार ७:४२, काठमाडौँ

एक गाउँले दम्पती, जसको आर्थिक अवस्था कमजोर छ। तर, एकअर्काप्रतिको माया र सम्मान भने अथाह। त्यसैले उनीहरू निकै मिलेर खुसीसाथ जीवनयापन गरिरहेका हुन्छन्।

तर, छिमेकी दम्पतीको जोडी भने ठ्याक्कै उल्टो। आर्थिक रूपमा सम्पन्न भए पनि उनीहरूबीच निकै झगडा हुन्छ। त्यो देखेर सुन्तलीले श्रीमान् (जुठे) लाई भन्छिन्, ‘त्यस्तो देख्दा त बुढा, बरु गरिब भए पनि हाम्रो जिन्दगी आनन्द लाग्छ मलाई त।’

‘धन बोकेको मान्छेलाई गरिब भन्छेस्!’ जुठेले जवाफ फर्काउँछन्।

त्यसपछि सुन्तलीले जिस्किँदै सोध्छिन्, ‘खै, देखाऊ देखाऊ, कहाँ बोकेका छौँ धन?’

जुठे प्रेमिल शैलीमा भन्छन्, ‘तैँ त होस् नि मेरो धन। तँ भन्दा ठूलो धन अरु मलाई के चाहियो र?’

यो फिल्म ‘परालको आगो’मा समावेश गरिएको संवाद हो। ट्रेलर सार्वजनिक भएसँगै यो प्रेमिल संवाद टिकटकमा भाइरल छ। जसमा लाखौँ टिकटक भिडिओ बनिसकेका छन्।

यो चर्चासँगै कलाकार सिर्जना अधिकारीको परिचय फेरिएको छ। किनकि सिर्जनालाई अब ‘सुन्तली’ भनेर चिन्ने दर्शकहरू धेरै छन्। गत शुक्रबारदेखि ‘परालको आगो’ हलमा प्रदर्शनरत छ।

दर्शक भेट्न सिर्जना फिल्म टिमसहित हल–हल पुगिरहेकी छिन्। जहाँ उनलाई एकछिन घुरेर हेर्छन् अनि भन्छन्m ‘त्यो सुन्तली तपाईं नै हो है। कस्तो राम्रो गर्नुभएको! तपाईं त कस्तो भर्खरकी हुनुहुँदो रहेछ। हामीले त अलि बुढी नै सोचेका थियौँ।’

दर्शकबाट आएका यी प्रतिक्रियाले सिर्जनालाई रमाइलो लागिरहेको छ।

‘अहिलेको मोमेन्टमा ठ्याक्कै ब्ल्याङ्क भएकी छु। दर्शकले जुन माया दिनुभएको छ, त्यो चाहिँ एकदम अमूल्य हो। उहाँहरूले दिनुभएको मायाले निकै खुसी लागेको छ,’ उनले भनिन्।

यस फिल्ममा सिर्जना अभिनेता सौगात मल्लको जोडीको रूपमा छिन्। जहाँ उनको अभिनयको निकै तारिफ भइरहेको छ। अझ फिल्मको पात्रको नामले आफूलाई चिन्दा निकै खुसी लागेको सुनाउँछिन् सिर्जना।

‘अरु कलाकारलाई ठ्याक्कै चिनिहाल्नुहुन्छ। मलाई चाहिँ यसो एकछिन घुरेर हेर्नुहुन्छ। सुन्तली हौ भनेर कन्फर्म गर्नुहुन्छ। त्यसपछि आएर झुम्मिनुहुन्छ,’ उनले भनिन्, ‘आमाहरू आएर म त रोएँ नि भन्नुहुन्छ। अनि कस्तो मन छोयो भन्नुहुन्छ। दर्शकले कलाकारको कामलाई कस्तो राम्रो र नेचुरल भनिदिँदा मन छुँदो रहेछ। यस्तो चिजले खुसी बनाउँदो रहेछ।’

सिर्जनाले यो किसिमको चर्चा पहिलोपटक महसुस गरेकी हुन्। तर रंगमञ्च पृष्ठभूमिबाट आएकी उनी कलाकारितामा भने १७ वर्षदेखि सक्रिय छिन्। उनले कक्षा ८–९ मा पढ्दाखेरी सडक नाटकबाट अभिनय यात्रा सुरु गरेकी थिइन्।

‘कथाले एउटा समयलाई प्रतिनिधित्व गर्ने गर्छ। अनि त्यसका पात्रले पनि त्यही गर्छ। गल्ती सबैबाट हुन्छ, अनि फेरि त्यो गल्ती महसुस गरेर अगाडि बढ्नु नराम्रो कुरा होइन। गल्तीलाई मिलेर सुधार्न सकियो भने नयाँ जीवन सुरु हुन्छ भन्ने मेरो पात्रले बोकेको भाव हो। जुन सुन्दर चिज हो जस्तो लाग्छ,’ उनले भनिन्।

सिर्जनाका लागि टिकटकमा आफ्नो संवाद भाइरल हुनु नयाँ र अचम्मको अनुभव थियो। सुरुमा आफ्नै भिडिओ देख्दा हाँसो उठ्ने र लाज लाग्ने गरेको उनले सुनाइन्।

काठमाडौँकै हात्तीगौँडामा जन्मेकी सिर्जनाले स्कुल पढ्दा नै विभिन्न ६ वटा जिल्लामा पुगेर सडक नाटक गरेकी थिइन्। यद्यपि, उनको औपचारिक रंगमञ्चको यात्रा भने एसएलसीपछि सुरु भयो। एसएलसी दिएलगत्तै उनी अनुप बरालको ‘एक्टर स्टुडियो’मा भर्ना भएकी थिइन्।

त्यतिबेला यो स्टुडियो झम्सीखेलस्थित मोक्षमा सञ्चालित थियो। उनी ‘एक्टर स्टुडियो’को सातौँ ब्याचकी विद्यार्थी हुन्। त्यसपछि सिर्जनाले मलामी, सुनकेशरी, सलाईको बट्टा, मिल्क टी, डिग्री माइला लगायतका चर्चित नाटक खेलेकी थिइन्।

फिल्ममा सिर्जनाको अनुहार नयाँ होइन। यसअघि पनि सिर्जनाले थुप्रै फिल्म खेलिसकेकी छिन्। रेड मनसुन बाट डेब्यु गरेकी उनले श्री ५ अम्बरे, खाग, सतीदेवी, एक्टर : टेक वान, कोसेढुङ्गा जस्ता फिल्म खेलिसकेकी छिन्।

जसमध्ये श्री ५ अम्बरे मा उनको लामो भूमिका थियो। अझ रोचक कुरा त यस फिल्ममा सौगात मल्लसँग सहकार्य गर्ने मौका पाएकी थिइन्।

सिर्जनाले आफू फिल्म खेल्ने सपना लिएर नआएको तर परिस्थितिले डोर्‍याउँदै फिल्मसम्म पुर्‍याएको बताउँछिन्। सिर्जना आफूलाई कुनै एउटा सीमित घेरामा राख्न चाहँदिनन्। हिरोइन हुनुभन्दा पनि एउटा इमानदार कलाकार बनेर बाँचिरहनुमा बढी आनन्द प्राप्त हुने उनको भनाइ छ।

‘अलि कम उमेर हुँदा हिरोइनको लागि अफरहरू आएका थिए। तर खोइ, कस्तो चित्त बुझ्दैनथ्यो मलाई। कलाकार भएर सबै विधा समेटिँदै जानु राम्रो लाग्छ। कसैले गीत गाउन भन्यो भने म तीन महिना सिकेर केही न केही गाइदिन्छु भन्दिन्छु। एउटा सिनमा नाच्न भन्यो भने म त्यसमा फरक परेन के मलाई। कलाकार भएर बाँच्नमा बढी आनन्द आउँछ,’ उनी भन्छिन्।

परालको आगोमा सिर्जनालाई निर्देशक लक्ष्मण सुनारबाट अफर आएको थियो। यसमा उनले सौगातसहित प्रकाश सपुत र सुहाना थापासँग सहकार्य गर्ने मौका पाइन्। फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ।

अभिनयको तारिफ भए पनि यो किसिमको सफलता भने सिर्जनाले पहिलोपटक पाएकी हुन्। यसैक्रममा हामीले सोध्यौँ, ‘परालको आगोबाट अभिनयको दोस्रो अध्याय सुरु भयो भन्न मिल्छ?’

उनले फ्याट्टै भनिन्, ‘पक्कै पनि दोस्रो अध्याय भन्न मिल्छ। लामो समय रंगमञ्चमा भए पनि यो किसिमको चर्चा मैले पहिलोपटक पाएकी हुँ। एउटा कलाकारको हिसाबले खुसीभन्दा पनि आगामी दिनलाई सोचेर जिम्मेवारी महसुस भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad