ad ad

अन्तर्वार्ता


७५ वर्षमा नेपाल र अमेरिकाले एकअर्कालाई अँगालो हालेनन्, तिरस्कार पनि गरेनन्ः भेषबहादुर थापा (अन्तर्वार्ता)

७५ वर्षमा नेपाल र अमेरिकाले एकअर्कालाई अँगालो हालेनन्, तिरस्कार पनि गरेनन्ः भेषबहादुर थापा (अन्तर्वार्ता)

डा. भेषबहादुर थापा अमेरिकाका लागि पूर्व नेपाली राजदूत हुन्


सन्तोष घिमिरे
बैशाख १२, २०७९ सोमबार ८:४६, काठमाडौँ

डा. भेषबहादुर थापा अमेरिकाका लागि पूर्व नेपाली राजदूत हुन्। उनी सन् १९८० र १९९६ गरि दुई पटक अमेरिकाका लागि नेपाली राजदूत रहे। अर्थमन्त्री र परराष्ट्रमन्त्री समेत रहिसकेका डा. थापा सन् १९९७ मा भारतका लागि नेपाली राजदूत भए। नेपाल–अमेरिका सम्बन्ध आज (२५ अप्रिल) बाट ७५ वर्षमा प्रवेश गरेको सन्दर्भमा डा. थापासँग  नेपालखबरले गरेको वार्ताः 

नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाका ७५ वर्ष बिते। यो सम्बन्धलाई कसरी मूल्यांकन गर्नुहुन्छ? 
नेपाल-अमेरिका सम्बन्ध ७५ वर्षमा प्रवेश गरेको छ। यो सम्बन्ध एकनासको रह्यो, कहिल्यै उतारचढाव आइपरेन। सम्बन्धमा निरन्तरता छ। राणाकालदेखि अमेरिकासँग हाम्रो दौत्य सम्बन्ध सुरु भयो। अमेरिकाले पूर्वाधार विकासका काममा निरन्तर सहयोग गर्ने तर अन्य कुरामा कम हस्तक्षेप गर्ने नीति अख्तियार गर्यो। तथापि, उनीहरुको आफ्नो स्वार्थ हुँदै नभएको भन्ने होइन। उनीहरुका स्वार्थ र चासो थिए। कुनै पनि दुई देशबीचको सम्बन्ध भनेको एउटा देशले चाहेर मात्रै हुने कुरा होइन। दुवै देशले द्विपक्षीय र बहुपक्षीय मामिलामा एक अर्काका चासो बुझ्छन् भने उनीहरुबीच असल सम्बन्ध बन्छ। 

नेपाल र अमेरिकाबीच द्विपक्षीय सम्बन्ध ज्यादै उचाइमा पुगेर अँगालो हालेको स्थिति पनि आएन र एकले अर्कोलाई तिरस्कार गरेर वा पन्छाएर हिँडेको स्थिति पनि रहेन। राणाकाल, पञ्चायतकाल, बहुदल हुँदै अहिलेको नयाँ व्यवस्थासम्म आइपुग्दा दुई देशबीचको सम्बन्ध एकनासको छ। राणाकालमा नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिनेबारेमा कुरा हुँदा रुसका ख्रुस्चेभले नेपाललाई मैले चिनेको छैन, देखेको छैन भनेर नकारात्मक धारणा प्रस्तुत गरेका रहेछन्। त्यसपछि केही समयका लागि नेपालले राष्ट्रसंघको सदस्यता पाउने कुरा अड्केको रहेछ। संयुक्त राष्ट्रसंघ अमेरिकामा अवस्थित रहेको र त्यसको संरचनादेखि लिएर संयुक्त राष्ट्रसंघलाई अघि बढाउने मामिलामा अमेरिकाको अहम् भूमिका थियो।

 
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना हुँदाको विश्व परिवेश छोटोमा बताइदिनुस् न। 
नेपाल र अमेरिकाबीच औपचारिक सम्बन्ध सुरुवात हुँदा भर्खरै दोश्रो विश्वयुद्ध सकिएको बेला थियो। अर्को विश्वयुद्ध सुरु नहोस् भन्ने हेतुले अमेरिकाले राष्ट्रसंघ स्थापनाका लागि अग्रसरता लिएको थियो। युद्ध रोक्ने र विकासमा सहकार्य गरेर कसरी विश्वका मुलुक अघि बढ्ने भन्नेबारेमा छलफल हुन थालेको माहौल थियो। त्यसबेलामा नेपालको राणा शासनले यो कुराहरु आंशिक रुपमा बुझेर राष्ट्रसंघमा आबद्ध हुन प्रयास थालेको थियो। त्यसपछि विश्वमा ठूलो कूटनीतिक चहलपहल सुरु भएको थियो। एउटा जितेको पक्ष, दोश्रो हारेको पक्ष र तेश्रो कतै पनि नलागेको पक्ष गरी तीन वटा पक्ष थिए। यी तीनखाले धारणामा विभिन्न देश विभाजित थिए। 

त्यतिबेला औपनिवेशिक शक्ति विस्तारै ढल्दै थिए, स्वतन्त्र राष्ट्र बन्ने लहर विश्वभर चलेको थियो। मानवजातिको ठूलो चहलपहल दोश्रो विश्वयुद्धपछि नै भएको हो। नेपालले त्यसबेलासम्म बाहिरी दुनियाँबाट लुकेर आफ्नो सार्वभौमिकतालाई सुरक्षित राखिआएको थियो। नेपाल ज्यादै सक्रिय पनि नहुने र अरुसँग निहुँ पनि नखोज्ने गथ्र्यो। यसरी नेपालले आफ्नो अस्तित्व जोगायो। त्यसको केही समयपछि वाङडुङमा असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन भयो। नेपालले विश्वमञ्चमा आफूलाई अघि बढाएको त्यसपछि नै हो। उक्त सम्मेलनमा असंलग्नताको जरो गाड्ने काम भयो। नेपालले सम्मेलनमा सक्रिय भूमिका निर्वाह गर्यो। त्यसयता नेपालले अझ सशक्त रुपमा स्वतन्त्र र सार्वभौम मुलुकका रुपमा विश्वमा आफूलाई चिनाउँदै लग्यो। 

अमेरिका अध्ययन गरेर फर्केपछि विसं २०१७ मा तपाईं सचिवका रुपमा नेपालको सरकारी सेवामा प्रवेश गर्नुभयो। पञ्चायती व्यवस्था भर्खरै सुरु भएको बेला अमेरिकाको नेपाल बुझाइ कस्तो थियो? 
त्यतिबेला पनि नेपाल शक्तिशाली मुलुक थिएन। तर, अमेरिकालगायत ठूला देशसँगको हाम्रो सम्बन्ध विस्तारको आधार त्यही बेला तयार भएको हो। त्यसबेला अमेरिकाको हामीप्रति निकै उदार नीति थियो। २००७ सालमा प्रजातन्त्र आएपछि अमेरिकासँगको हाम्रो सम्बन्ध औपचारिकतामा मात्र सीमित थियो। पञ्चायतकालमा सम्बन्ध सहकार्यमा परिणत भयो। त्यतिबेलाका प्राज्ञिक व्यक्तित्वहरु यदुनाथ खनाल र रामप्रसाद जोशी विश्वविद्यालयहरुमा पढाउँथे। त्यसबेलाको सरकारी संयन्त्रले पढेलेखेका मान्छेहरु खोजेर ल्याएर परराष्ट्र सम्बन्धबारे परामर्श गर्ने र आफ्नो धारणा बनाउने गथ्र्यो। नेपालको आफ्नो पहिचान र आफ्नोपनलाई अघि बढाउनका लागि हामीले विशेष प्रयत्न गरेका थियौँ। त्यसबेलामा हामीले असंलग्नताजस्ता मुद्दालाई हाम्रो परराष्ट्र सम्बन्धको आधारका रुपमा स्थापित गर्यौँ। अहिले पनि परराष्ट्र नीतिको मुख्य अंगका रुपमा असंलग्नता छ। 

परम्परागत कूटनीतिभन्दा माथि उठेर अमेरिकासँगको सम्बन्धले नयाँ दिशा कुन बेलामा प्राप्त गर्यो? 
अमेरिका र हामीबीच कूटनीतिक सम्बन्ध स्थापित भएका बेला भारत भर्खरै स्वतन्त्र भएको थियो। स्वतन्त्रता र शान्तिका लागि भारतले अभियान अघि बढाएको बेला थियो। चीनमा पनि नयाँ व्यवस्था सुरु भयो। त्यसबेला नै अमेरिकासँगको सम्बन्धले जरा गाड्यो। सम्बन्ध एकनासले अघि बढ्दैगयो। यही समयमा सम्बन्धले उचाइ लियो भन्ने अवस्था रहेन। तर अमेरिकासँगको सम्बन्धमा सौहार्दता बढ्दै गयो। नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने र सहयोग गर्ने काम अमेरिकाले गर्यो। नेपाललाई यो अवस्थामा पुर्याउने विभिन्न गतिविधिको सुरुवात त्यही बेला भएको हो। अमेरिकाका तर्फबाट हामीलाई सामाजिक आर्थिक विकासमा सहयोग जारी नै रह्यो। पञ्चायतकालीन समयमा नेपाल सानो र गरिब रहे पनि आफ्नो कुरा बाहिरी जगतलाई स्पष्ट ढंगले राख्न सक्थ्यो। भारत र चीनजस्ता शक्तिशाली मुलुकका बीचमा नेपाल शान्तिप्रिय मुलुकका रुपमा रह्यो र आफ्नो पहिचान अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रुपमा राख्न सफल भयो। 

अमेरिकासँगको सम्बन्धमा एक किसिमको निरन्तरता छ। एउटा पुरानो कुरा सम्झिन चाहन्छु। राजा वीरेन्द्रको अमेरिका भ्रमणमा तत्कालीन राष्ट्रपति रोनाल्ड रिगनले दिएको भाषणमा ‘नेपाल इज आवर नेबर अन दि अदर साइड अफ द ग्लोब’ (नेपाल पृथ्वीको अर्को छेउमा रहेको हाम्रो छिमेकी हो) भनेका थिए। भौतिक दुरीले हामी टाढा भए पनि नेपालसँगको सम्बन्ध सुमधुर छ भन्ने सन्देश उनको थियो।

नेपालबाट अमेरिका उच्चस्तरीय भ्रमण पञ्चायत कालमा भए पनि त्यसपछि भएका छैनन्। प्रधानमन्त्री तहको एउटै पनि औपचारिक भ्रमण भएको छैन नेपालबाट। अमेरिकाबाट पञ्चायतकालमा जम्माजम्मी एक पटक उपराष्ट्रपतिको भ्रमण भयो। अमेरिकाबाट नेपालमा उच्चस्तरीय भ्रमण निकै कम हुनुको कारण चाहिँ के होला? 
सन् १९५९ मा राजा महेन्द्रको अमेरिकाको राजकीय भ्रमण भयो। त्यसबेला म अमेरिकामा नेपाली विद्यार्थी थिएँ। पहिलोचोटि राजा महेन्द्रलाई मैले भेटेको त्यही बेला हो। भ्रमणमा राजा महेन्द्रले अमेरिकाको दुवै सदनमा सम्बोधन गर्नुभयो। त्यहाँको दुवै सदनमा सम्बोधन गर्ने पहिलो र एक मात्र नेपालको शीर्ष व्यक्तित्व राजा महेन्द्र नै हो। सम्बन्धलाई अझ प्रगाढ गर्ने कुराको जग त्यही बेला बसेको हो। भ्रमणमा अमेरिकाले नेपाललाई १६ मिलियन डलर सहायता दियो। त्यो नेपालका लागि ठूलो धनराशी थियो। किनकि नेपालसँग त्यसबेला स्रोतसाधन अभाव थियो। 

उक्त भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्यायो। राजा महेन्द्रको उक्त भ्रमणले नेपाल भारत, चीन वा अमेरिकामुखी भन्ने नेपालमा जुन चर्चा हुन्छ, त्यसलाई तोड्ने काम गरेको थियो। हामी कसैको आडमा सक्षम हुने होइन, आफैँ सक्षम छौँ भन्ने देखाउनु आवश्यक थियो। त्यसैले त्यो भ्रमण महत्वपूर्ण रह्यो नेपालका लागि। उच्चस्तरीय भ्रमणका लागि नेपालले नै पहलकदमी लिएको हो त्यसबेला। त्यसलाई पुनर्जागरण गर्ने प्रयास भए, तर सफल भएन। 

अमेरिकी राष्ट्रपतिको भ्रमणका लागि नेपालका तर्फबाट प्रयत्न भएनन्? 
दुई देशबीचको सम्पर्क र सहकार्यका लागि उच्चस्तरीय भ्रमण आवश्यक छ। अमेरिकाबाट नेपालमा उच्चस्तरीय भ्रमण गराउन पछि पनि प्रयत्नहरु भएका थिए। म नै राजदूत रहँदा पनि अमेरिकाबाट उच्चस्तरीय भ्रमणका लागि प्रयास गरेँ। एकचोटि त्यसबेलाका अमेरिकी विदेश मन्त्रालयका हाकिमले मलाई दिएको जवाफ यस्तो थियो– ‘हेर्नुस् अमेरिकाको राष्ट्रपतिलाई स्वागत गर्न चाहने देश कुन चाहिँ नहोला विश्वमा? बिनाकारण हाम्रा राष्ट्रपति फनफन्ती विश्वका मुलुक घुमेर हिँड्दैनन्। उनी आफ्नै मुलुकको आन्तरिक मामिलामा पनि निकै व्यस्त हुन्छन्। हाम्रा राष्ट्रपति नेपाल जान यस्तो मुद्दा हुनुपर्यो कि अमेरिकाको संलग्नताले गर्दा नेपाललाई फाइदा हुन्छ र अमेरिकामा पनि त्यसको सराहना हुन्छ। यदि त्यसरी विषयसूची नेपालको तर्फबाट आएमा सोच्न सकिन्छ। अमेरिकी राष्ट्रपति दुई पटक गरेर जम्माजम्मी आठ वर्ष पदमा रहने हुन्। त्यस बेलामा कुन देश जाओस्, कहाँ नजाओस्।’

त्यसपछि म अवाक् भएँ र फर्किएँ। नेपालबाट अमेरिकातर्फ पनि प्रधानमन्त्रीको भ्रमण अहिलेसम्म भएको छैन। म अमेरिकामा राजदूत हुँदा पनि हाम्रा प्रधानमन्त्रीको अमेरिका भ्रमण गर्ने चाहना त हुन्थ्यो। तर सफल भएनन्। 

नेपाललाई त्यतिबेला पनि छिमेक र अमेरिकासँगको सम्बन्धलाई सन्तुलनमा राख्ने चुनौती थियो, अहिले पनि छ। शक्तिराष्ट्रसँगको सम्बन्ध सन्तुलनका लागि नेपालले के गर्नुपर्छ? 
प्रयत्नको कमी होइन। छिमेकबाहेक बाँकी विश्वसँग सम्बन्ध राख्दा कसरी हाम्रो स्वतन्त्र हैसियत र पहिचान अभिवृद्धि गर्ने भन्ने कुरा मुख्य हो। कुनै पुस्ताले त्यसका लागि काम गर्यो। कुनै पुस्ताले वकालत मात्रै गरेर बस्यो, काम गरेन। नेपाल असुरक्षित छ भन्ने हीनताको भावना हटेर गएको छ। हामी सानो मुलुक हौँ भनेर खुम्चिएर बस्ने होइन कि सम्बन्धलाई सार्वभौमिकता र समानताका आधारमा अघि बढाएर जानुपर्छ। नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सहज रुपमा लैजान सक्छ। त्यो क्षमता छ। पारस्परिक सहयोग र सम्बन्धको आधार बनाउन निकै मेहनत त्यसबेला परेको थियो। किनकि छिमेकीका चासो त्यसबेला पनि यस्तै थिए। 

अहिले आन्तरिक राजनीतिक कलहले गर्दा हामीले अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउन सकेका छैनौँ। हामी घरभित्रै रुमल्लिएका छौँ। यही बेला युक्रेन मामिलाले पनि हामीलाई एउटा पाठ दिएको छ। साना देश आफ्नो सार्वभौमिकताको मामिलामा थप चनाखो हुनुपर्ने बेला आएको छ। साना देशले आफूलाई कसरी जोगाउने भन्नेबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ। त्यसैले हाम्रो सम्बन्ध कसरी सन्तुलन गर्न सकिन्छ, त्यसतर्फ विचार पुर्याउनु आवश्यक छ। सबै देशसँगको सम्बन्ध सुमधुर राख्ने, कसैको एजेन्डा नबोक्ने र पक्षधरता नलिने अर्थात् असंलग्नताको नीति कायमै राख्ने गरेमा मात्रै मुलुकको हित हुन्छ। त्यसका लागि अहिलेको राजनीतिक नेतृत्वले विचार पुर्याउनुपर्छ। 

नेपालमा अमेरिका र चीनका परस्पर विरोधी चासो छन्। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता नेपालको संसदबाट अनुमोदन हुनुअघि उनीहरुबीचको भूराजनीतिक द्वन्द्व एकपटक फेरी छताछुल्ल भएको थियो। यस खालको परिस्थिति आउन नदिन अबका दिनमा नेपालको भूमिका चाहिँ के हुनसक्छ? 
शीतयुद्ध धेरैअघि अन्त्य भयो। तर कहीँ न कहीँ कुनाकाप्चाबाट नयाँ शीतयुद्ध निम्त्याउने प्रयास भइरहेको हो कि भन्ने देखिएको छ। गएको ५० वर्षमा छिमेकी चीन र भारतले आर्थिक हिसाबले निकै प्रगति हासिल गरे। यो बदलिँदो विश्व परिवेशमा नेपालले छिमेकी वा अन्य कुनै विदेशी मुलुकसँग पनि डर नमानीकन र कसैसँग धेरै नजिक पनि नभइकन दृढतापूवर्क आफ्ना कुरा राख्न सक्नुपर्छ। हामीले विदेशनीति सञ्चालन गर्दा आफ्नोपनलाई कायम राख्ने कुरामा ध्यान दिनुपर्छ। असंलग्नतालाई हामीले मूल मन्त्र मानेर जानुपर्छ। 

नेपाल–अमेरिका सम्बन्धका ७५ वर्ष– थप स्टोरी :
१. काठमाडौँमा ‘हाइप्रोफाइल’ अमेरिकी राजदूतबीच विश्व तरंगित पार्ने बिहे, पर्साको झुपडीमा हनिमुन

२. राजा वीरेन्द्रलाई ह्वाइटहाउसको त्यो स्वागत

३. शताब्दी पुरानो ‘चमत्कारी वीरगन’: अमेरिकीको घरघरमा, नेपालको संग्रहालयमा

४. राजा महेन्द्र अमेरिकाकै राष्ट्रपतिको जेट चढेर सिकार गर्न गए, खर्च नतिर्दा बदनाम भए

५. सीआईएको हतियारले चीनसँग लडे, भारत भाग्दै गर्दा नेपाली सेनाबाट मारिए

६. महेन्द्रले ‘कू’ गर्नुअघिको गोप्य अमेरिकी रिपोर्टः दुई देशलाई भिडाउन नेपाली माहिर छन्

७. डोली चढेर आएको त्यो अमेरिकी मिसन, जसले दियो नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .