अन्तर्वार्ता


एमालेबाट माओवादीमै फर्किएका बलम्पाकी भन्छन्– बादल, मणि, प्रभु कोही एमालेमा सन्तुष्ट हुनुहुन्न (अन्तर्वार्ता)

एमालेबाट माओवादीमै फर्किएका बलम्पाकी भन्छन्– बादल, मणि, प्रभु कोही एमालेमा सन्तुष्ट हुनुहुन्न (अन्तर्वार्ता)

टेकबहादुर बलम्पाकी


जनार्दन पोखरेल
असोज २ , बर्दिबास

एमालेका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकी एक साताअघि माओवादी केन्द्रमा फर्किए। तत्कालीन नेकपा विभाजन हुँदा रामबहादुर थापा ‘बादल’सँगै एमालेमा लागेका बलम्पाकीलाई भदौ २२ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा स्वागत गरे।

महोत्तरीको बर्दिबासस्थित हात्तिलेट घर भएका बलम्पाकी माओवादी विभाजन हुँदा मोहन वैद्यतिर लागेका थिए। पछि थापासँगै उनी माओवादीमा फर्किएका थिए। बलम्पाकीको राजनीतिक पृष्ठभूमि भने जनमोर्चा, नेपाल हो। उनी जनवादी गायकका रूपमा चिनिएका छन्।

बादलसहितका पूर्वमाओवादीका नेताहरूलाई एमालेमै छाडेर बलम्पाकी किन फेरि माओवादी केन्द्रमै फर्किए? नेपालखबरले गरेको कुराकानी :

एमालेको केन्द्रीय सदस्य पद छाडेर किन माओवादी केन्द्रमै फर्किनु भयो?
माओवादी र एमाले मिलेर नेकपा बन्यो। हामी सबै नेकपाका सदस्य भयौँ। बीचमै पार्टी फुट्यो। नेकपाका साथीहरू आआफ्ना पुरानै पार्टीमा फर्किए। तर, हामी नेकपाको निरन्तरता, एकताको निरन्तरता भनेर एमालेमै बस्यौँ। केपी ओलीकै नेतृत्वमा एमालेमा रह्यौँ। यसमा कति फुटेर हिँडिरहने, कति चोइटिने भन्ने मनोभावनाले पनि काम गर्यो।

यो एक/डेढ वर्ष एमालेमा बसेपछि म केपी ओली नेतृत्वको एमालेमा रहनु भनेको एकताको निरन्तरता वा नेकपाको निरन्तरता दुवै होइन भन्ने निष्कर्षमा <पुगेँ। सार र रूप दुवै दृष्टिले एमालेमा रहनु भनेको नेकपा वा एकता दुवैको निरन्तरता होइन भन्ने ठहर गरेपछि म पुनः आफूले जीवनको लामो कालखण्ड लगानी गरेको, रगत पसिना बगाएको पार्टी माओवादी केन्द्रमै फर्किएको हुँ। अर्थात् जताजता भौतारिए पनि केही हुने रहेनछ, आफ्नै घर चाहिने रहेछ भनेर म पुनः आफ्नै घरमा फर्किएँ। अध्यक्ष प्रचण्डसहितका नेताहरूसँग कुराकानीपछि म माओवादी केन्द्रमा फर्किएँको हुँ।

एमालेको केन्द्रीय सदस्य छाडेर माओवादी केन्द्रमा फर्किंदै गर्दा अध्यक्ष प्रचण्डसहितका नेताहरूले तपाईंलाई के आश्वासन दिनुभएको छ?
आश्वासन त्यस्तो केही छैन। म फर्किएकोमा उहाँहरू खुसी हुनुहुन्छ। प्रचण्डले ‘तपाईंहरूले ढिलै भए पनि यथार्थ कुरा बुझ्नुभएछ’ भन्नुभयो। ‘एउटा ज्ञानसहित फर्किनुभयो। तपाईंहरू जस्ता मान्छेलाई पार्टीमा ढोका जहिले पनि खुला छ। तपाईंहरूको सम्मान पनि हुन्छ। तपाईंहरूको योगदानको कदर पनि हुन्छ। त्यसमा कुनै पनि कसर बाँकी राखिन्न’ भन्ने कुरा प्रचण्डले गर्नुभएको छ। अब पार्टीले जे जिम्मेवारी दिन्छ, त्यसलाई स्वीकार्ने कुरा हुन्छ।

माओवादीमा तपाईंको पोजिसन के हुन्छ? तपाईंको माग के छ?
एमालेको केन्द्रीय सदस्य छाडेर आएकाले माओवादीमा पनि केन्द्रीय सदस्य निश्चित नै भैहाल्यो। त्यसमा दुईमत हुने कुरै भएन। त्यो भन्दा माथि उहाँहरूले के निर्णय गर्नुहुन्छ, छलफलपछि निष्कर्ष निकाल्नुहोला। स्थायी समिति, सचिवालय अथवा अन्य कुनै पद जेमा निर्णय गरे पनि मेरो खासै विमति छैन। स्थायी समिति वा सचिवालयमा मेरो दाबी पनि छैन। तर, नेकपा बन्दा केन्द्रीय सदस्य भएका मसँगैका कतिपय साथीहरू अहिले माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य हुनुभएको छ। सोहीअनुसार नेताहरूले मेरो विषयमा पनि सोच्नु होला भन्ने लागेको छ। तर, मैले मलाई यही पद चाहिन्छ भनेको छैन। मुख्य कुरा पद होइन, विचार हो। विचारबाहेक बाँकी चिज गौण कुरा हुन्। अहिले आफ्नै घर फर्किने कुरा नै प्रधान रह्यो। बाँकी पदको कुरा धेरै भएको छैन।

आगामी मंसिरमा संघ र प्रदेशसभाको निर्वाचन हुँदै छ। त्यो चुनावमा तपाईं उम्मेदवार हुने सम्भावना कत्तिको छ?
संघ वा प्रदेशमा प्रत्यक्ष चुनाव लड्ने अपेक्षा मेरो छैन। गएको स्थानीय तह निर्वाचनमा एमालेबाट बर्दिबासको मेयरमा चुनाव लडेँ। जित्न सकिएन। त्यसले पनि प्रत्यक्ष उम्मेदवार बन्ने मेरो माग वा चाहना दुवै छैन। तर, पार्टी नेतृत्वले मेरो योगदानको कदर गरेर समानुपातिकमा राख्नुभयो, समानुपातिकबाट संघ वा प्रदेशसभामा लैजानुभयो भने मेरो समर्थन नै रहन्छ।

गएको स्थानीय तह निर्वाचनमा बर्दिबासको मेयरमा तपाईंले हार बेहोर्नुपर्यो। यो पराजयको कस्तो समीक्षा गर्नुभएको छ?
एमालेभित्रको अन्तर्घातका कारण मैले चुनाव जित्न सकिनँ। पार्टीका साथहीहरूले अन्तर्घात नगरेको भए मेयरमा मेरो राम्रै अवस्था हुन्थ्यो। यद्यपि ०७४ को स्थानीय तह निर्वाचनमा भन्दा यसपटक एमालेले बर्दिबासमा धेरै मत ल्याएको छ। त्यो मेरै कारणले सम्भव भएको हो। मेरै कारणले धेरैवटा वडा पनि एमालेले जितेको छ। अघिल्लो चुनावमा यो अवस्था थिएन।

फेरि पनि बर्दिबासमा मलाई ३६ सयजति मात्रै मत आयो। मेयरमा विजयी हुने प्रह्लाद क्षेत्रीले करिब साढे १३ हजार मत ल्याउनुभयो। एमालेको अधिकांश मत प्रल्हाद क्षेत्रीलाई गयो। चुनावको नतिजापछि मेरो विश्लेषण के रह्यो भने बर्दिबासमा खाँटी एमाले कोही पनि छैन। विगतदेखिको इतिहासलाई हेर्दा पनि बर्दिबासमा एमालेको हालत यस्तै देखिन्छ।

मतदान अघि र पछि भने उनीहरू खाँटीका एमाले हुन्छन्। भोट खसाल्ने दिनचाहिँ कोही एमाले रहँदैनन्। यस्तो बिडम्बना छ बर्दिबासमा।

यसमा म एउटा उदाहरण दिन चाहन्छु। बर्दिबासको ३ नम्बर वडामा एमालेका वडाध्यक्षका उम्मेदवारले १३ सय मत ल्याउँदा मलाई त्यहाँ ३ सय मत मात्रै आयो। १ नम्बर वडामा पनि त्यस्तै भएको छ। मेरो घर भएको वडा बर्दिबास ८ बाहेक सबै वडामा एमालेका साथीहरूले मलाई मतदान गरेनन्। एमालेका चिनिएका स्थानीय नेता/कार्यकर्ता नै जनतासँग मत माग्दा एक भोट वडा (एमालेका वडाध्यक्षका उम्मेदवार) लाई अर्को भोट घोडा (मेयरका स्वतन्त्र उम्मेदवार) लाई माग्दै हिँडे। उनीहरू आफ्नै पार्टीका मेयरलाई मत नदिन आह्वान गर्दै हिँडे।

स्थानीय चुनावमा मेयर पदमा हारेपछि एमालेप्रति तपाईंको मोह भंग भएको हो?
त्यसले पनि केही काम गरेको छ। एमाले छाड्नुमा त्यो कारण छँदै छैन म भन्दिनँ। मलाई लाग्छ, बर्दिबासमा एमालेको भविष्य नै छैन। यो एउटा पक्ष भयो। अर्को कुरा, एमालेमै रहनु एकताको निरन्तरता पनि होइन, नेकपाको निरन्तरता पनि होइन भन्ने निष्कर्षमा म पुगेँ। एमालेप्रतिको विमतिमा यसले पनि काम गरेको छ। सैद्धान्तिक रूपमा एमालेले जनताको बहुदलीय जनवादलाई आत्मसात् गरेको छ। माओवादीबाट गएका हामीलाई पनि त्यहाँ यही सिद्धान्त स्वीकार्न बाध्य पारियो। मैले विद्रोह गरे पनि माओवादी छाडेर एमालेमा गएकाहरू अहिले उकुसमुकुस भएर बसिरहनुभएको छ।

पार्टी छाड्नुअघि तपाईंले एमालेका को–कोसँग कुरा गर्नुभयो?
एमाले छाड्नुअघि मैले एकचरण कमरेड बादल, मणि थापासहितका हाम्रा सबै साथीहरूलाई भेटेर कुराकानी गरेँ। मैले बादल दाइसँग अब माओवादीमै फर्किनुपर्छ कमरेड भन्ने आग्रह गरेँ। उहाँ तत्कालै माओवादीमा फर्किन तयार हुनु भएन। तर, सैद्धान्तिक रूपमा बादल पनि एमालेमा सन्तुष्ट हुनुहुन्न। हामी आए पनि सैद्धान्तिक रूपमा पुरानै ढंगको एमालेको निरन्तरता मात्रै भैरहेको छ भन्ने असन्तुष्टि साथीहरूमा छ।

एमालेमा हामी पूर्वमाओवादीको नेतृत्व गर्ने बादल दाइ हुनुहुन्थ्यो। तर, उहाँलाई नै एमालेमा बोल्न दिइँदैन। उपाध्यक्ष भनिए पनि एमालेमा उहाँको हालत यस्तो छ। पार्टीका कुनै पनि कार्यक्रम, स्वंयम् केन्द्रीय समितिको बैठकमा पनि बादल दाइलाई बोल्न दिइँदैन। माओवादीबाट गएको एउटा शीर्षस्थ नेतालाई नै बोल्न दिइँदैन। विचार प्रवाह गर्न दिइँदैन। त्यो ढोका नै बन्द छ। उहाँले कुरा राख्न पाए धेरै एमालेका नेता–कार्यकर्ता पनि कन्भिन्स हुन्थे होलान्। हाम्रो नेतृत्व गर्ने वैचारिक लिडरले नै बोल्न नपाएपछि एमालेले झन् हामीलाई बोल्न दिने कुरै भएन।

विचार अभिव्यक्तिमै बन्देज लगाउँदा पनि एमालेमा बादलसहितका नेता अझै किन बसिरहेका होलान्?
मैले एमाले छाड्नुअघि भेट्न जाँदा उहाँले यो विषयमा असन्तुष्टि जनाउनुभएको थियो। तर, ‘माओवादी छाडेर एमालेमा आइहालियो। अब फेरि कसरी माओवादीमै फर्किनु’ भन्नेमा हुनुहुन्छ उहाँ। नेकपाको, एकताको निरन्तरता भनेर एमालेमा लागिहालियो, शीर्ष नेता भएकाले तत्कालै माओवादीमा फर्किहाल्न पनि उहाँलाई गाह्रो छ। तर, बादल दाइसहित माओवादीबाट एमालेमा गएका कोही पनि लिडर त्यहाँ सन्तुष्ट हुनुहुन्न। बादल, मणि, प्रभु साह कोही पनि एमालेमा सन्तुष्ट हुनुहुन्न।

तत्कालीन नेकपाको निरन्तरता भनिए पनि सैद्धान्तिक रूपमा जनताको बहुदलीय जनवादलाई एमालेले छाडेको छैन। नेकपा हुँदा जनताको जनवाद भन्ने कार्यदिशा तय भएको थियो। एमालेमा जानुअघि बादल दाइ, प्रभु साहसहितका नेताले जनताको जनवादलाई एमालेले आत्मसात् गर्ने दाबी गर्नुभएको थियो। तर, त्यो भएन। जनताको जनवादको कुनै पनि गुन्जाइस एमालेमा छैन। एमालेको अहिलेको नेतृत्वले हाम्रा कुरा सुन्ने सम्भावना पनि मैले देखिनँ।

मलाई यो चित्त बुझेन। अनि मैले एमाले छाडेँ। कतिपयले मलाई यो अस्थिर छ पनि भन्लान्। कता-कता, कहाँ-कहाँ हिँडिरहन्छ पनि भन्लान्। तर, मेरो स्वभाव के छ भने सैद्धान्तिक रूपमा मतभेद भएपछि मलाई त्यहाँ बस्न मन लाग्दैन। एमालेसँग सैद्धान्तिक रूपमै विमति भएपछि सही कुराको निर्णय गर्न ढिलाइ गर्नु हुन्न भनेर मैले एमाले छाडेको हुँ।

अर्को कुरा, एमालेमा विधि र प्रक्रियामा पनि ठूलो समस्या छ। गएको स्थानीय तह निर्वाचनमा यस्तोसम्म भयो कि बर्दिबासमा वडाध्यक्षको उम्मेदवार पनि पार्टी अध्यक्ष केपी शर्मा ओेलीले छान्नुभयो। देशका धेरै ठाउँमा यस्तो भएको छ।

आफ्नो लेटरप्याडमा अध्यक्ष ओलीले बर्दिबासमा वडाध्यक्षको टिकट पठाउनुभयो। अध्यक्षको यो सम्मको हैकमचाहिँ मलाई अति नै लाग्यो। नगरले, जिल्लाले निर्णय गरेको उम्मेदवारलाई टिकट नदिएर अध्यक्ष ओलीले वडाध्यक्षका उम्मेदवारको टिकट आफ्नो लेटरप्याडमा पठाउनु भयो। यसले पनि एमाले पार्टी विधि र प्रक्रियाअनुसार चलेको छैन भन्ने कुराको पुष्टि हुन्छ। एमालेमा यस्ता अरू पनि धेरै उदाहरण छन् अध्यक्ष ओलीले हैकम लादेका।

माओवादी केन्द्रबाट मेयरका उम्मेदवार राजु खड्काले चुनाव नजित्नुमा तपाईंको उम्मेदवारीले पनि काम गर्यो, होइन?
विगतको चुनावमा माओवादीबाट मेयरका उम्मेदवार विदुर कार्कीले लगभग ९ हजार १ सय मत ल्याएर चुनाव जित्नुभएको थियो। त्यतिबेला कांग्रेसबाट उम्मेदवार बन्नुभएका प्रह्लाद क्षेत्रीले पनि करिब ८ हजार मत ल्याउनुभएको थियो। यसपटक माओवादीले मेयरमा ८ हजारभन्दा धेरै मत ल्याएको छ। ०७४ को निर्वाचनमा भन्दा यसपटक माओवादी उम्मेदवारले हजार मात्रै कम मत ल्याएका हुन्। मत धेरै घटेको देखिन्न। फेरि पनि मूलतः सांगठानिक अन्तर्विरोधकै कारण माओवादी उम्मेदवारले बर्दिबासमा हार बेहोर्नुपरेको मेरो निष्कर्ष छ।

पूर्वमाओवादीको नेता तपाईं आफैँ एमालेबाट उम्मेदवार बनेपछि माओवादी उम्मेदवारले हारेका होलान् नि?
म उम्मेदवार बनेपछि माओवादीका पनि कतिपय साथीले राजुजीलाई नदिएर मलाई मत दिनुभयो। एमालेको अधिकांश मत प्रह्लादको पक्षमा जाँदा पनि मेरो ३६ सय मत मत आउनुको कारण त्यो पनि हो। तर, बर्दिबासमा माओवादी उम्मेदवारले मेयरमा चुनाव हार्नुको प्रमुख कारण चाहिँ पार्टीभित्रको अन्तर्विरोध नै हो।

तपाईं एमालेको केन्द्रीय सदस्य तर माओवादीमा एक्लै फर्किनुभयो होइन?
बिस्तारै अरू धेरै साथीहरू माओवादीमा फर्किनुहुन्छ। अहिलेचाहिँ महोत्तरीमा राजेन्द्र साह र म मुख्य लिडर मात्रै फर्किएका छौँ। यसैगरी फर्किने क्रम अब बढ्दै जाने छ। महोत्तरीको २ र ३ नम्बर क्षेत्रबाट पनि एमालेबाट साथीहरू फर्किनका लागि सम्पर्कमा आइरहनुभएको छ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ। महोत्तरी १ मा को होला अब संघीय संसदको उम्मेदवार?
यहाँबाट गिरिराजमणि पोखरेलले तीनपटक चुनाव जितिसक्नुभएको छ। यसपटकको चुनावमा माओवादीबाटै अरू लिडरहरूले पनि इच्छा राख्नुभएको छ। गिरि दाइसहित भरत साह, राजु खड्कासहितका नेताहरू पनि संघीय संसदमा टिकटका आकांक्षी हुनुहुन्छ। तर, गिरि दाइ यसपटक मै लड्छु भनेर लाग्नुभएको छ। टिकट माथिबाटै टुंगिएला। गठबन्धन हुँदा महोत्तरी १ माओवादीकै भागमा पर्ने निश्चित छ। अरूले इच्छा देखाए पनि यहाँ म गिरि दाइकै सम्भावना बढी देख्छु। जित्ने उहाँले नै हो।

असोज २, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad