अन्तर्वार्ता


महेश बस्नेतसँग ‘तत्कालै’ : चुनावको ५ दिनअघि ओलीलाई दोषी ठहर्‍याएर प्रतिवेदन निकाल्ने षड्यन्त्र छ (भिडिओ)

‘मतपेटिका सेना–प्रहरीको सुरक्षा घेरामा राख्ने र चुनावमा धाँधली गर्ने योजना स्वीकार्य छैन’
महेश बस्नेतसँग ‘तत्कालै’ : चुनावको ५ दिनअघि ओलीलाई दोषी ठहर्‍याएर प्रतिवेदन निकाल्ने षड्यन्त्र छ (भिडिओ)

अनिल यादव
माघ २२, २०८२ बिहिबार २२:२३, काठमाडौँ

चुनावी सरगर्मी बढ्दै जाँदा भक्तपुर–२ का एमाले उम्मेदवार महेश बस्नेत आक्रामक रणनीतिका साथ मैदानमा छन्। अघिल्लो निर्वाचनको हार, बालेन शाहसँगको वाक् युद्ध, भदौको जेनजी विद्रोह र आगामी सत्ता समीकरणका विषयमा बस्नेतका आफ्नै तर्क र दाबी मात्र छैनन्, वर्तमान सत्ता र संयन्त्रमाथि ठूलो अविश्वास पनि छ।

यतिखेर एमालेका सचिवसमेत रहेका बस्नेतको मनमा भने एउटा ठूलो संशयले घर गरेको छ– ‘आगामी फागुन २१ मा हुने निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा होला त?’ उनलाई डर छ– विदेशी शक्ति र घरेलु षड्यन्त्रकारीहरू मिलेर मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने छन्। 

हामीले उनलाई सोध्यौँ– कतै यो हारको डर त होइन?

नेपालखबर ‘तत्कालै’को ‘इलेक्सन एक्सप्रेस’मा बिहीबार बस्नेतले भने, ‘एमाले कहिल्यै पनि चुनावसँग डराउँदैन। न महेश बस्नेत नै डराउँछ।’

तर यति भन्दाभन्दै उनले वर्तमान सरकार र संवैधानिक निकायको नियतमाथि केही प्रश्न उठाउँदै निर्वाचन नै नहुने वा बिथोलिने आशंकासमेत व्यक्त गरे।

सर्वोच्च अदालत र प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिप्रति निकै आक्रामक हुँदै उनी भन्छन्, ‘हाम्रो निर्वाचनप्रतिको आशंका दुई–तीन वटा कुरामा छ। एउटा सर्वोच्च अदालतले न्याय निरूपण गर्ने कुरामा किन ढिलासुस्ती गरिरहेको छ? हिजो केपी ओलीले गरेको संसद् विघटन चाहिँ छिटो–छिटो पेसी तोकेर बदर गरिदिने, अहिले चाहिँ पेसी सार्ने र न्यायाधीशहरू बिदामा बस्ने प्रवृत्ति देखिएको छ। अदालत आतंकको छायामा बस्नु हुँदैन।’

बस्नेतले निर्वाचन सार्ने बहानाबाजी भइरहेको दाबी गर्दै थपे, ‘अब हिमाली भेगमा हिउँ पर्छ, त्यसो भएको हुनाले चुनाव दुई चरणमा गर्नुपर्छ भनेर प्रधानमन्त्रीले राष्ट्रिय सभामा भन्नुभयो। पोहोर हिउँदपछाडि जन्मेका बच्चालाई मात्र यो कुरा थाहा छैन, अरुलाई त थाहा थियो होला नि? निर्वाचनको मिति तोक्दा किन यो कुरा वास्ता गरिएन? दुई चरणमा निर्वाचन गरेर मतपेटिकाहरू सेना र प्रहरीको सुरक्षा घेरामा राख्ने र चुनावमा धाँधली गर्ने जुन योजना छ, त्यो हामीलाई स्वीकार्य छैन।’

एमाले अध्यक्ष केपी ओलीका एकदमै निकट सचिव बस्नेतले रास्वपाको तर्फबाट झापा–५ का उम्मेदवार बनेका बालेन शाहलक्षित सबैभन्दा उग्र अभिव्यक्ति दिँदै आएका छन्। बस्नेतले बालेनलाई एक ‘पपुलिस्ट’ पात्रका रूपमा मात्र हेर्दैनन्, उनलाई अन्तर्राष्ट्रिय शक्तिको उत्पादन समेत भन्न भ्याएका छन्।

बस्नेतको दाबी छ, ‘बालेन र रवि नवउदारवाद र पपुलिजमबाट उदाएका र युक्रेनको जेलेन्स्की वा पाकिस्तानको इमरान खान जस्तै उत्पादन हुन्। उनीहरूले विकासका ठोस अवधारणाभन्दा पनि पपुलर कुरा गरेर जनताको दिमाग हाइज्याक गर्ने कोसिस गरिरहेका छन्।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रसंग उठाउँदै बस्नेतले यसलाई अन्तर्राष्ट्रिय षड्यन्त्रको संज्ञा दिए। उनले यस घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले निर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप लगाए।

‘आयोगले निर्वाचनको ५–७ दिनअगाडि केपी ओलीलाई दोषी ठहर गरेर प्रतिवेदन बाहिर निकाल्ने, एमालेलाई हत्याराको पार्टी भनेर ह्विम सिर्जना गर्ने षड्यन्त्र भइरहेको छ,’ बस्नेतले नेपालखबरको ‘तत्कालै’मा भने, ‘यदि यस्तो भयो भने निर्वाचनको परिस्थिति सहज हुँदैन, मुलुक द्वन्द्वमा जान्छ।’

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओलीसँग बयान लिएको विषयलाई पनि बस्नेतले ठाडै अस्वीकार गरे। उनी आयोगका पदाधिकारी र ओलीबीच सामान्य कुराकानी मात्र भएको दाबी गर्छन्। 

‘केपी शर्मा ओलीले बयान दिनुभएको छैन,’ उनले भने, ‘केपी शर्मा ओली घरमा बसिरहेको बेलामा आयोगका साथीहरू आउनुभयो। उहाँले भन्नुभयो– आयोगका साथीहरू मकहाँ आउँछन् भने चिया ख्वाएर पठाउँछु, चिया खुवाउने कल्चर चाहिँ मेरो हो, कुकुर फुकाएर पठाउँदिनँ। चिया खाएर उहाँले गरेको कुराकानीलाई आयोगका साथीहरूले बयान मान्नुभएको होला, तर त्यो बयान होइन। अनावश्यक ढंगले हाम्रो पार्टी र नेताहरूलाई गैर–न्यायिक निकायबाट दोषी करार गरेर निर्वाचनमा पराजित गराउने भूमिका खेलियो भने त्यसको प्रतिवाद हुन्छ।’

जेनजी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले बनाएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको वैधानिकतामाथि नै उनले प्रश्न गरे। 

‘यो कुनै न्यायिक आयोग नै होइन नि,’ उनले भने, ‘यस्तो आयोग त म पनि बनाइदिन्छु नि। अहिले हामीलाई मात्र तारो बनाउनु अन्तर्राष्ट्रिय शक्तिहरूको डिजाइन हो।’

झापा–५ मा एमाले अध्यक्ष ओलीलाई बालेनले हराउन सम्भव नै नरहेको उनको विश्वास छ।

‘केपी शर्मा ओली हराउनु भनेको आकाश पल्टाएजस्तै हो। उहाँले सानदार ढंगले जित्नुहुन्छ। बालेन झापामा निहुँ खोज्न जानुभएको मात्रै हो,’ उनले भने। 

अहिले देशभर देखिएको रास्वपाको लहरलाई उनी सिधै अस्वीकार गर्छन्। 

‘मलाई रास्वपाको कुनै लहर आएजस्तो लाग्दैन। यो त आयुर्वेदिक औषधि बेच्नेले डमरु बजाएर मान्छे जम्मा गरे जस्तै हो। बाटो–बाटोमा हिँडेर र स्टन्ट गरेर भोट प्रभावित हुँदैन,’ उनले भने। 

एक कार्यक्रममा बस्नेतले भावी गृहमन्त्रीको दाबी गरिरहेको भन्ने प्रसंगमा उनले भने, ‘मैले गृहमन्त्रीको दाबी गरेको छैन, त्यो गलत व्याख्या भयो। मैले भनेको के हो भने– जुन अपराधिक कर्महरू भएका छन्, जसरी राज्यमाथि आक्रमण भएको छ, जसरी सहकारी ठगी भएको छ, त्यसलाई कारबाही गर्न एमालेको बहुमत आउनुपर्छ। केपी ओली प्रधानमन्त्री बन्नुहुन्छ, त्यसपछि गृहमन्त्री जो बन्छ, त्यसले कडाइसाथ कारबाही गर्छ भनेको हुँ। मेरा समकालीन गगन, मभन्दा कान्छो बालेन सबैले प्रधानमन्त्री दाबी गरिरहँदा म पनि त यो देशको प्रधानमन्त्री नै चलाउन सक्ने मान्छे हो नि, गृहमन्त्री त मेरा लागि सामान्य कुरा भयो।’

महेश बस्नेतले थप के–के भने? हेर्नुस् उनीसँग नेपालखबर ‘तत्कालै’मा गरिएको यो विस्तृत भिडिओ कुराकानीः 

फोटो/भिडिओ: सरोज नेपाल
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad