अन्तर्वार्ता


बादलले ओलीतिर जाउँ भनेर एकबचन भन्नुभएन, छिट्टै हामी एकै ठाउँमा आउँछौं : सूर्य सुवेदी

बादलले ओलीतिर जाउँ भनेर एकबचन भन्नुभएन, छिट्टै हामी एकै ठाउँमा आउँछौं : सूर्य सुवेदी

सागर न्यौपाने
पुस ११, २०७७ शनिबार ६:२७,

गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा रहने घोषणा गरेपछि यसअघि उनको साथमा रहेका सबै नेताहरुले उनलाई छोडेका छन्। आफ्नो समूहका ३७ जना केन्द्रीय सदस्यहरूलाई पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपामै छोडोर थापा एक्लै ओलीतिर किन लागे होलान् त? यो प्रश्न अहिले नेकपाभित्र धेरैको मनमा उठेको छ। पछिल्लो समय गृहमन्त्री थापाको राजनीतिक सल्लाहकारका रुपमा उनी निकट रहेर काम गरेका नेकपाका केन्द्रीय सदस्य सूर्य सुवेदीसँग नेपालखबरले यही प्रश्न राखेको छः

सुवेदी भन्छन्ः यो एउटा राजनीतिक परिघटना हो। संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई मैले त्यति राम्रो मानिनँ। यो प्रतिक्रान्तिको सुरुवात हो भन्ने मलाई लाग्यो। प्रचण्ड–माधव नेतृत्वको पार्टीले मेरो भावनाको प्रतिनिधित्व गरेको हुनाले म यता आएँ, बादल कमरेडले अरु ढंगले सोच्नुभयो उता हुनुभयो। हामीले अन्तिमसम्म उहाँलाई यता ल्याउन हदैसम्म प्रयास गरेका थियौं, सफल भएनौं।

बादललाई प्रचण्ड–नेपाल समूहमा ल्याउन अन्तिमसम्म के के प्रयास भएका थिए?
हामी बादलकै वरिपरि रहेर क्रान्तिकारी माओवादी हुँदै प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग पार्टी एकताको प्रक्रियामा सहभागी भएका थियौं। त्यसकारण हामीले विभिन्न ढंगले अनुरोध गरेका हौं। हाम्रो अनुनय विनय नै थियो, त्यसैका लागि एकदुई दिन म लगायतका केही साथीले कुर्दा हामी यता सहभागी हुन ढिलो पनि भयौं। तर, बादलजीले हाम्रो आग्रहलाई स्वीकार गर्नु भएन। उहाँले म चैं यतै रहन्छु भन्नुभयो तर हामी कसैलाई पनि उता आउन भन्नुभएन। हामी सबै स्वतन्त्र छौं, आफ्नो आफ्नो निर्णय सबैले स्वेच्छिक ढंगले लिऊँ भन्नुभयो। उहाँले स्वेच्छिक ढंगले निर्णय लिनुभयो, यतापट्टि हामीले पनि निर्णय लियौं।

त्यसरी बादलले २०४२ सालदेखि प्रचण्डसँग रहेको राजनीतिक सम्बन्ध सजिलै तोडे, हैन?
संसदीय निर्वाचनको कोणबाट म त्यति धेरै यसमा प्रवेश गर्न चाहन्नँ। बादलले पुनर्विचार गर्नुहुन्छ भन्ने मलाई लाग्छ। राजनीतिक घटनाक्रमहरु यतिमै रोकिँदैनन्, अगाडि बढ्छन्। बादलले बालुवाटारमा बिहीबार भएको ओली पक्षको बैठकमा जे बोल्नुभयो, त्यसअनुसार देश अगाडि जाँदैन। विषम ढंगले जाने जस्तो देखिन्छ। माक्र्सवादीहरुले तथ्यबाट सत्य पत्ता लगाउने हो। आगामी दिन तथ्यहरु अलि फरक ढंगले नै जान्छन्। ती तथ्यहरुका आधारमा फेरि एकपटक कमरेड बादलले पुनर्विचार गर्नुहुनेछ। मलाई लाग्छ छिट्टै नै हामी फेरि एकै ठाउँमा आउँछौं।

Surya Subedi

छिट्टै एक ठाउँमा आउने त्यस्तो आधार के छ र?
छन्, प्रसस्तै आधार छन्। बादलले आफ्नो सिंगो राजनीतिक जीवन नै क्रान्तिमा बिताउनुभएको छ। जनतातिर फर्किएको छ उहाँको राजनीतिक जीवन। उहाँले अहिले मिस क्याल्कुलेसन (गलत हिसाव) गरिराख्नुभएको छ भन्ने मलाई लाग्छ। घटनाक्रम, वर्गसंघर्ष र देशको राजनीति अलि अगाडि बढ्छ। प्रतिक्रान्तिकारी र क्रान्तिकारीबीच लडाइँ पर्छ। जब नाङ्गो आँखाले यी तथ्यहरु देखिन्छन्। त्यसपछि मलाई लाग्छ बादल क्रान्तिकारी जनतातिरै फर्कनुहुन्छ।

तपाईँ त निकट रहेर काम गरेको मान्छे, अहिले चाहिँ बादलले ओलीलाई रोज्नुको खास कारण के हो?
म बादलसँगको सबै जिम्मेवारीबाट मुक्त भैसकेको छु। हाम्रो अलग्गै पार्टी छ। उहाँको पार्टी अलग भइसक्यो। अलग पार्टीको नेताको बारेमा अब मैले धेरै बोल्नु उचित हुँदैन। बादलसँग रहँदाको आधारमा हेर्दा पछिल्लो स्थितिमा पनि उहाँले म लगायत हाम्रो टिमलाई ओली पक्षमा जाऊँ भनेर एकबचन पनि भन्नुभएन। अन्तिम समयसम्म पनि उहाँले निर्णय नै दिनुभएन।

बादललाई छोडेर प्रचण्ड–नेपाल समूहतिर लाग्नेबेला तपाईँलाई पनि निर्णय गर्न कठिन भयो होला नि?
ठ्याक्कै त्यस्तो दुखाई त भएन। तर, कमरेड बादलसँगै जान पाए राम्रो हुन्थ्यो भन्ने जिम्मेवारी बोधले नै हामी छलफलमा थियौं। निश्चयनै छुटेकोमा केही अप्ठेरो त हुने नै भयो। तर, कमरेड बादललाई नै यता जोड्न सकिन्छ भन्ने चाहनाका साथ हामी यता लागेका छौं।

प्रचण्डसँग पनि छलफल त धेरै भएकै थियो तर, पनि बादललाई अन्तिमसम्म निर्णय गर्न किन सकस भयो?
अध्यक्ष प्रचण्डसँग धेरै राउन्डमा छलफल भयो, उता केपी कमरेडसँग पनि भयो। एकैदिन दुईतीन चोटी छलफल भयो तर, उहाँले बुधबार बेलुकामात्र निष्कर्ष निकाल्नुभयो। बिहीबार बिहान दुईतिर भइहालियो।

बादलको राजनीतिक जीवनमा यो निर्णयले कस्तो प्रभाव पार्ला?
प्रभाव त पर्छ। बीसौं, तीसौं, चालिसौं वर्षको वर्गसंघर्ष र अन्तसंघर्षको प्रक्रियाबाट एउटा नेता जन्मिन्छ। क्रान्तिकारी नेता त झन् क्रान्तिबाट मात्र जन्मिने हो। ठूल्ठूला भीषण आन्दोलन र क्रान्ति हुनुपर्छ। क्रान्तिकारी नेतालाई हजारौं जनताले आशाको नजरले हेरेका हुन्छन्। त्यस्तो नेताले गलत निर्णय लिँदा क्रान्तिकारी तप्कामा, जनतामा स्वतः निरासा आउँछ। तर, यस्ता परिघटना यो नै पहिलो होइन र सायद तत्कालै यो अन्त्य पनि हुँदैन।

जनता र पार्टीले यी सबै कुरा पचाएर अघि बढ्नु नै पर्छ। व्यक्तिसँग र ती नेतासँग संघर्ष गर्ने कुरा भयो। बादलका गलत चिन्तनसँग लड्दै फेरि पनि उहाँलाई रुपान्तरण गर्न प्रयत्न गर्ने कुरा बाँकी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad