झापाको चुनावी सरगर्मी यतिबेला उत्कर्षमा छ। राष्ट्रिय राजनीतिका प्रभावशाली नेताहरूको जमघट रहेको झापामा यसपटक क्षेत्र नम्बर २ को चुनावी भिडन्त निकै रोचक बनेको छ। अघिल्लो संसद्मा सँगै कुर्सी सेयर गरेका दुई शीर्ष व्यक्तित्व— पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा रानामगर यतिबेला झापा २ मा चुनावी मैदानमा आमनेसामने छन्।
नेकपा एमालेका तर्फबाट घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रानामगर चुनावी प्रतिस्पर्धामा उत्रिँदा यो क्षेत्र चर्चामा छ। लामो समय समाजसेवामा बिताएकी र अघिल्लो पटक समानुपातिक प्रणालीबाट सांसद हुँदै उपसभामुख बनेकी इन्दिरा यसपटक प्रत्यक्षतर्फ भोट माग्दै जनताको घरदैलोमा छिन्।
आफ्नो सिंगो जीवन बालबालिका र जेल सुधारको क्षेत्रमा बिताएकी इन्दिराका लागि प्रत्यक्ष चुनाव लड्नु नयाँ अनुभव हो। तर, यसलाई उनी एउटा ठूलो जिम्मेवारीका रुपमा लिन्छिन्।
नेपालखबर तत्कालैसँग गफिँदै उनी भन्छिन्, ‘मैले कुनैबेला बच्चा र जेलको फरक सेक्टरलाई हेरिरहेको थिएँ भने अहिले झापा क्षेत्र नम्बर २ को कुनाकुना जाँदा सुगम ठाउँमै पनि कति दुर्गम क्षेत्र रहेछ भन्ने महसुस भयो। मानिसहरू अहिले पनि कति कुराको पहुँचबाटै टाढै रहेछन् भन्ने थाहा हुँदैछ।’
विगतमा राजनीतिलाई हेर्ने दृष्टिकोण र अहिलेको यथार्थबारे उनी थप्छिन्, ‘खासमा यो राजनीति चाहिँ ठूलो समाजसेवा रहेछ। हाम्रो जम्मै जिन्दगी नै राजनीतिमा अडिएको रहेछ। राजनीति त हामीले नबुझेको रहेछौँ। राजनीति भनेको एकदमै डरलाग्दो र नराम्रो भन्ने भाष्य छ। तर जम्मै जीवन ठोकिने राजनीतिसँग रहेछ त्यसैले राजनीतिमा आउनैपर्ने रहेछ।’

पैसा नभई चुनाव लड्न सकिँदैन भन्ने भाष्यलाई चिर्दै उनी जनताको स्वस्फूर्त मायाले आफूलाई अघि बढ्न ऊर्जा दिएको बताउँछिन्।
‘म उपसभामुख हुँदा खातामा जुन ब्यालेन्स थियो अहिले चुनावमा पनि त्यही ब्यालेन्स लिएर आएको हो,’ उनी भन्छिन्, ‘तर मेरा लागि जनताहरूले स्वस्फूर्त सहयोग गरिरहेका छन्। मैले संसदमा गएर केही गर्छु भन्ने विश्वास छ उनीहरूलाई।’
यतिखेर जनतामा पुराना नेताहरूप्रति चरम वितृष्णा छ। नेताहरूले यसअघि भोट माग्दा बाँडेका अपूरा सपनाप्रति जनता आक्रोशित छन्। इन्दिरा यसलाई स्वाभाविक मान्छिन् र आफू विकासे एजेन्ट नभई नीति निर्माता बन्न आएको स्पष्ट पार्छिन्।
उनी भन्छिन्, ‘अरु नेताको आश्वासनका कारण जनताको गुनासो र गाली सुनिन्छ। स्विट्जरल्यान्ड बनाउँछुु भन्थे, खोइ स्विट्जरल्यान्ड भन्छन्। म चाहिँ प्रस्टसँग जनतालाई भनिरहेको छु– म यहाँ रोड बनाउन पनि आएको होइन, तपाईंको ढल बनाउन पनि आएको होइन, कानुन बनाउन जाँदैछु म। तपाईंले त्यो बुझ्नुपर्यो। र, मैले कानुन राम्रो बनाएँ भने तपाईंको पुल पनि बन्छ, तपाईंको बाटो पनि बन्छ, सबथोक कानुनअनुसार बन्नुपर्छ, हुनुपर्छ।’
अघिल्लो संसद्मा सँगै कुर्सी सेयर गरेका एमाले उम्मेदवार देवराज घिमिरेसँगको प्रतिस्पर्धालाई उनी कुनै दुस्मनी वा ठूलो चुनौती मान्दिनन्। लोकतान्त्रिक अभ्यासमा यसलाई उनी स्वाभाविक प्रक्रिया ठान्छिन्।
घिमिरेविरुद्धको उम्मेदवारीबारे उनी भन्छिन्, ‘विरोध गरेको होइन। उहाँ पनि सेवा गर्छु भनेर आउनुभएको होला, मैले पनि सेवा गर्छु देशको, समाजको, मलाई मौका दिनुस् भनेर आएको हो। त्यति मात्रै हो। मलाई त्यस्तो केही चुनौती फिल भएको छैन।’

एमालेको गढ मानिने झापा २ मा आफ्नो जितको आधार उनी आफ्नो त्याग र कर्मलाई मान्छिन्।
उनी थप्छिन्, ‘समाजवाद त ममा पो रहेछ त। गर्वसँग भन्छु, समाजवाद भनेको बाँडेर, लिएर समाजलाई हेर्ने हो के। समाजवाद भनेको आफ्नो महल बनाउने, ठड्याउने होइन। मलाई त गर्व छ, त्यो कुरा चाहिँ अहिले जनताले बुझेका छन्।’
रास्वपाले यसपटक बहुमत ल्याउने र काठमाडौँका पूर्वमेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउने बताइरहेको छ।
रास्वपाले बहुमत किन ल्याउनुपर्छ र बालेन किन प्रधानमन्त्री हुनुपर्छ भन्ने सन्दर्भमा उनी भन्छिन्, ‘हाम्रो सभापति रवि लामिछानेले पहिला पनि त्याग गरेको प्रधानमन्त्री पद, तपाईंहरूलाई पनि थाहा होला। हामी परिवर्तन चाहने मान्छे हो। परिवर्तन चाहने मान्छेले मिलेर जानुपर्छ भन्दाखेरि उहाँले म भाग खोज्दिनँ, हुनेवाला प्रधानमन्त्री बालेनलाई दिने भनेर जानुभएको छ। हामीले परिवर्तन चाहने नयाँहरू एक भएर अगाडि जानुपर्छ भनेर आह्वान गरिरहेका छौँ।’
बालेनको ‘एक्सन ओरिएन्टेड’ शैलीबाट इन्दिरा निकै प्रभावित छिन्। काठमाडौँमा बालेनले सुरु गरेका कामहरूको प्रशंसा गर्दै उनले बालेनबाट आफूले पाएको सुझावसमेत खुलाइन्।
बालेनको कार्यशैलीबारे उनी भन्छिन्, ‘बालेनले काठमाडौँमा काम गरेर प्रमाणित गरिसक्नुभएको छ। उहाँले त्यहाँ कसैलाई विभेद गर्नुभएको छैन। उहाँको शैली एकदम एक्सन ओरिएन्टेड छ। उहाँ धेरै बोल्नुहुन्न।’
बालेनले आफूलाई दिएको सुझाव सम्झिँदै उनी भन्छिन्, ‘मलाई नि धेरै नबोल्नु दिदी भन्या छ। काम गर्नुपर्छ, काम गरेर देखाउने हो भन्या छ। त्यही भएर पनि रास्वपा रोजेको हो।’
आफू सधैँ भुइँमान्छेकै स्तरमा रहेर काम गरेको र अब पनि भुइँमान्छेकै अधिकारका लागि लड्ने इन्दिराको अठोट छ। विदेशिने युवालाई स्वदेशमै राख्न स्रोत र साधनको सही उपयोग गर्नुपर्ने उनको भनाइ छ।
भन्छिन्, ‘भुइँमा बसेर पनि ठूल्ठूला काम गर्न सकिन्छ, गर्ने हो। हामी जमिनमै टेकिराखेका छौँ। आफ्नो धरातल बिर्सेको छैन मैले। यो देश बनाउने हामी सबैको जिम्मेवारी हो। त्यो जिम्मेवारी महसुस गरेर चुनाव लड्न आइपुगेको हुँ।’
झापा ५ मा बालेनले ओलीलाई सहजै हराउने इन्दिराको दाबी छ। तर, कसरी? हेर्नुहोस्, इन्दिरासँग गरिएको इलेक्सन एक्सप्रेस भिडिओ कुराकानी ‘नेपालखबर तत्कालै’ :
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया