राजनीति


नेपालको डिजिटल पूर्वाधार सुदृढ गर्न अमेरिका इच्छुक, अर्थमन्त्रीसँग भयो यस्तो छलफल

नेपालको डिजिटल पूर्वाधार सुदृढ गर्न अमेरिका इच्छुक, अर्थमन्त्रीसँग भयो यस्तो छलफल

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १७:५८, काठमाडौँ

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अमेरिकी उपसहायक विदेशमन्त्री समिर पल कपुरबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित अर्थमन्त्रालयमा मंगलबार भएको भेट ‘आर्थिक सहकार्य केन्द्रित’ रहेको मन्त्रालयले जनाएको छ।

द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको भेटवार्तामा नेपालमा अमेरिकी लगानी बढाउने विषयमा समेत छलफल भएको थियो। 

आर्थिक सहकार्यका विषयमा केन्द्रित भेटमा नेपालस्थित अमेरिकी दूतावास, परराष्ट्र मन्त्रालयकाका प्रतिनिधि पनि उपस्थित थिए। तीन दिने नेपाल भ्रमणको दोस्रो दिन उनले अर्थमन्त्रीसँग वार्ता गरेका हुन्।

‘नेपालको व्यवसायिक वातावरण सुधार गर्ने र अमेरिकी कम्पनीहरुलाई नेपालमा आकर्षित गर्न प्रयास गर्नेबारेमा अर्थमन्त्री डा. वाग्लेसँग गजबको छलफल भयो’, उपसहायक विदेशमन्त्री कपुरले भनेका छन्, ‘घनिष्ठ व्यवसायिक सम्बन्धले नेपालको यातायात, ऊर्जा र डिजिटल पूर्वाधारमा सहयोग पुर्‍याउनेछ। दुवै देशलाई फाइदा हुनेगरी आर्थिक सम्वृद्धि ल्याउनेछ।’ 

उनको भनाइ अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ साउथ एन्ड सेन्ट्रल एशिया अफेयरले सार्वजनिक गरेको हो।

आजै बिहान उपसहायक विदेशमन्त्री कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए।

सोमबार उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेर पार्टीका प्राथमिकताबारे कुरा सुनेका थिए। उनको दोस्रो बैठक नेपालका सूचना प्रविधि (आइटी) उद्यमीसँग भएको थियो। त्यहाँ उनले नेपालमा डिजिटल पूर्वाधार सुदृढ गर्ने विषमा कुराकानी गरेका थिए।

बालेन सरकार गठन पछि अमेरिकाको तर्फबाट भएको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad