आइतबार विहान पोखराको घारीपाटन नजिकै सेतीको खोँचमा यती एयरको एएनसी एटीआर–७२ जहाज दुर्घटनामा परेसँगै स्थानीयबासी उद्धारमा दौडिए।
स्थानीय कृष्ण बहादुर गुरुङको घर पछाडि नै विमान खसेको थियो। बस्ती नजिकै जहाज दुर्घटनामा परेका कारण तत्कालै कृष्णसहितका स्थानीय दुर्घटनास्थल पुगेर केही यात्रुलाई जीवितै उद्धार गरे।
कृष्ण भन्छन्, ‘मैले त त्यही हो, आगो बलेको देखेपछि बाहिर आएर हेरेँ। दौडिएर जाँदा विमानमा आगो बलिरहेको थियो। २,३ जना मान्छे बाहिर छरिएका थिए।’
उद्धार गरिएकामध्ये एक जना जीवितै रहेकाे उनले बताए।
‘उनीहरु जिउँदो थिए कि मरेका थिए थाहा छैन। हामीसँगैको विकास भाइले एक जना केटीलाई खोँचबाट बाहिर निकाल्यो’ उनले भने, ‘उसलाई सोध्दा जिउँदै छ भनेको थियो।’
घाइतेलाई तत्काल अस्पताल लैजान सम्भव नभएको र प्रहरी पनि ढिलो आउँदा घाइतेको प्राण बचाउन नसकिएको कृष्णले बताए।
‘हामी तार जालीको बाहिर थियौँ, किनकी हामी भित्र जान सकेनौँ। विकास भाइपछि ४,५ जना अरु साथीहरु पनि आए। उनीहरुले दुर्घटनामा परेका ४,५ जनालाई उद्धार गरे’ कृष्णले भने, ‘तत्काल अस्पताल लैजान सम्भव नभएकाले यहीँ धेरै बेर राखेका थियौँ। भाइहरुले सास चलिरहेको छ भन्थे।’
विकास उद्धारमा जुट्दै गर्दा स्थानिय मुक्ती गिरीले प्रहरीलाई खबर गरेका थिए। खबर पाएको झण्डै १० मिनेटपछि मात्र प्रहरी घटनास्थल आइपुगेको उनले बताए।
‘खबर पाएको झण्डै १० मिनेटपछि मात्र प्रहरी आए’ गिरीले भने, ‘प्रहरी भन्दा अगाडि नयाँ गाउँमा रहेको नयाँ गाउँ बोरिङको पानी आएको थियो।
गिरीका अनुसार ५,६ जना मान्छे बाहिर निकालेपछि मात्र दमकल आएको थियो।
उनी भन्छन्, ‘मैले २० जना मान्छेलाई निकालेको आँखाले देखेँ।’
स्थानीयले विमानसँगै यात्रु पनि जलेको देखेको बताएका छन्।
‘६,७ जना गुरुङहरु रहेछन्। कोही एनिभर्सरी मनाउन आएका रहेछन्’ प्रत्यक्षदर्शी एक महिलाले भनिन्, ‘यस्तो देख्दा आङ नै जिरिङ्ग भएको छ। आँत कामिरहेको छ।’
ती महिलाले आफूले ३६ जना निकालेको देखेको बताइन्।
‘स्थानीय नै उद्धारमा आए। आफ्नो ज्यानको बाजी राखेर मान्छे निकाल्न गएका थिए।’
स्थानीय एक रिसोर्ट सञ्चालकले जहाज सिधै आएर ठूलो आवाजका साथ भूइँमा खसेको बताइन्। जहाज खस्ने बित्तिकै आगोको मुस्लो उडेको थियो।
उनले भनिन्, ‘पहिला विमान सिधै आएको थियो। अनि हामी खाना खान भित्र गयौँ। त्यसको एकछिनमा बहिनीले ‘लौ न नी’ भनेर करायो। अनि आमाले के भयो यत्रो ठूलो जहाज आउँदा यस्तो कराउँदो रहेछ भनेर भन्नुभयो। बाबाले लौ न नी प्लेन त खस्यो भन्नुभयो।’
ति रिसोर्ट सञ्चालकले अगाडि भनिन्, ‘अनि हामी दौडिएर दुर्घटनास्थलमा आयौँ, हामी आउँदा प्लेन त घारी पाटनको खोँचमा ठोकिएर तल खस्यो। खस्नै बित्तिकै ठूलो कालो मोसो आएको थियो। त्यति छिटो जल्दो रहेछ।’
कतिपय स्थानीय उद्धारमा जुटेपनि कैयौँ व्यक्ति फोटो/भिडिओ खिचेर बसेको उनले बताइन्।
‘एक छिनमा नै यस्तो देख्न पर्यो। जिन्दगीमा पहिलो पटक यस्तो देखियो। त्यो भाइले लास निकालेर बाहिर आएपछि बल्ल काम्न थालेको थियो’ लामो सुस्केरा हाल्दै उनले थपिन्, ‘उ उद्धारमा जाँदा अरुले भिडियो बनाउँदै थिए। उसले भिडियो बनाउन भन्दा सहयोग गर्न आउ भनेर कराएको पनि थियो।’
पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको उद्दार कार्य अहिले पनि जारी छ।
दुर्घटनाका प्रत्यक्षदर्शी सरिता जिसीका अनुसार अहिले पनि घटनास्थलमा शव निकाल्ने काम भइरहेको छ।
पोखरा नयाँ गाँउमा आज बिहान जहाज दुर्घटना भएको थियो। सेती नदीको खोँचको तलसम्म पुगेकाले शव निकाल्न कठिन भइरहेको छ।
दुर्घटनाग्रस्त स्थानमा विमानका टुक्राहरु छरपष्ट छन्। खोँचबाट निकालिएका शवलाई अस्पताल लैजाने काम भइरहेको छ।
-
विमानमा लागेको आगो नियन्त्रणमा, २९ जनाको शव गण्डकी अस्पतालमा लगियो
-
दुर्घटनाअघिको दृश्य : यतिको जहाज आकाशमै अस्वभाविक कोल्टिएर खस्यो (भिडिओ)
-
पोखरामा दुर्घटनाग्रस्त यतिको जहाजमा थिइन् गायिका निरा छन्त्याल
-
दुर्घटनाग्रस्त विमानमा थिए ट्रमा सेन्टरमा कार्यरत डा. श्रेष्ठ दम्पती
- ‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’
प्रतिक्रिया