गण्डकी


सहकारी ठगीका अभियुक्त मेयर देवकुमार नेपालीविरुद्ध डेढ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

सहकारी ठगीका अभियुक्त मेयर देवकुमार नेपालीविरुद्ध डेढ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०८२ शुक्रबार २१:२, बागलुङ

सहकारी ठगीको मुद्दा खेपिरहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ।

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहेका उनले १ अर्ब ५८ करोड ९४ लाख ५५ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय बागलुङले बिहीबार बागलुङ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

अभियोगपत्रमा १ हजार ५४३ बचतकर्ताको रकम अपचलन गरी नेपालीले सम्पत्ति शुद्धीकरण गरेको उल्लेख छ। सहकारीका उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यष लक्ष्मी सेन सुनार तथा सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक, झगबहादुर शाहीले पनि उनको मतियारका रूपमा काम गरेको अभियोगपत्रमा उल्लेख छ।

यस्तै सहकारीको मुख्य कार्यालय बागलुङका शाखा प्रबन्धक शक्ति किसान, लेखा प्रमुख लालमती रोका, सेवा केन्द्र बुर्तिबाङका लेखा प्रमुख अनिता बुढामगर, सेवा केन्द्र गलकाेटका शाखा प्रबन्धक अनिल नेपालीको पनि मिलेमतो रहेको दाबी गरिएको छ।

अभियोगपत्रअनुसार, नेपालीसहितका सञ्चालक तथा कर्मचारीले सहकारी ठगीको रकम पचाउन कृत्रिम खाता खडा गरेर रकम स्थानान्तरण गरेको र उक्त रकम फेरि कृत्रिम ऋणी खडा गरेर ऋणका रूपमा झिकेको पाइएको छ। उनीहरुले राज्यलाई प्राप्त हुने राजस्वसमेत हिनामिना गरेको अभियोगपत्रमा लेखिएको छ।

सहकारी ठगी गरी सो कसुरबाट नेपालीले एक अर्ब ५९ करोड ९४ लाख ५५ हजार ३९१ बराबरको सम्पत्ति शुद्धीकरण गरेकोले बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार २ देखि १५ वर्षसम्म कैद सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ। उनको नाममा रहेको सहकारीको ४० लाखको सेयर, नगद र जग्गासमेत जफत गर्न माग गरिएको छ।

नेपालीकी पत्नी छेला नेपालीका नाममा पनि ६ करोड ९८ लाख ८० हजार ७५२ रुपैयाँ बिगो कायम भएको छ। विभिन्न स्थानमा उनको नाममा रहेका जग्गा जफतसमेतको माग दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad