अन्तर्वार्ता


निर्देशक दीपेन्द्र गौचनसँग वार्ता: २२ वर्षपछि फर्किंदा त नेपाली सिनेमाको माहोल नै बदलिइसकेछ

‘सृष्टिलाई देखेपछि एकैपटक दुई फिल्ममा साइन गराएँ’
निर्देशक दीपेन्द्र गौचनसँग वार्ता: २२ वर्षपछि फर्किंदा त नेपाली सिनेमाको माहोल नै बदलिइसकेछ

लक्ष्मी बलायर
पुस २७, २०८१ शनिबार १३:२६, काठमाडौँ

टेलिचलचित्र ‘उजेली’बाट चर्चामा आएका निर्देशक हुन्: दीपेन्द्र गौचन। ३२ वर्षअघि बालविवाहको विषयमा बनाएको ‘उजेली’ ले निकै चर्चा बटुल्यो। त्यसपछि गौचनले चेलिबेटी बेचबिखन र कुष्ठरोग लगायतका विषयमा जनचेतनामूलक डकुड्रामा बनाए।   

साथै चर्चित कार्टुन ‘मुमिन’लाई नेपालीमा डब गरे। जुन कार्टुन पनि नेपाली दर्शकमाझ निकै लोकप्रिय बन्यो। बीबीसीका कार्यकारी निर्माताको रुपमा काम गरेका दीपेन्द्र सन् २००२ मा कम्बोडिया पुगे। तीन वर्षका लागि गएका उनले २२ वर्ष उतै बिताए।

जहाँ उनले थुप्रै प्रोजेक्टमा काम गरे र फिल्म पनि पढाए। फिल्म विभागको सल्लाहकार समेत बने। यतिसम्म कि दीपेन्द्रले ज्याकी च्यानलाई लिएर एचआईभीसम्बन्धी दुईवटा विज्ञापन समेत बनाए।

तिनै निर्देशक गौचन २२ वर्षपछि नेपाल फर्किएका छन्, ‘मिसिङ: केटी हराएको सूचना’ कोसेलीसहित। गौचनकै निर्देशन र लेखन रहेको यो फिल्म माघ ११ गतेबाट हलमा लाग्दैछ। उनै निर्देशक तथा लेखक गौचनसँग गरिएको कुराकानी :

लामो समयपछि दर्शकसँग जोडिने मौका पाउनुभएको छ, कस्तो महसुस भइरहेको छ?
पहिले म नेपाल हुँदाखेरी सिनेमाको माहोल अर्कै थियो। जो प्रविधिमा एड्भान्स थिए, उनीहरुले मात्रै सिनेमा बनाउन सक्थे। ठूलो पर्दाको सिनेमा बनाउने सपना त हुन्थ्यो तर, हाम्रो पहुँच हुन्थेन। सरकारी र प्राइभेट कम्पनीहरुले फिल्म बनाउँथे।

२२ वर्षपछि फर्किंदा त माहोल फरक भइसकेको रहेछ। प्रविधिले गर्दा उपकरणको सहजता छ। जोसुकैले पनि सिनेमा बनाउन सक्छ। नेपालमा यति धेरै फिल्म बन्दो रहेछ कि यसले दुइटा चिज दिमागमा एकैचोटि आयो।

पहिलो त धेरै फिल्म बन्नुले उद्योग बढेको छ, धेरै मान्छेले काम पाएका छन्। अर्को अहिले वर्षमा सयवटा बढी फिल्म बन्छन्। वर्षमा ५२ हप्ता मात्रै त हुन्छ र हरेक हप्ता २ वटा फिल्म रिलिज हुन्छन्। जसले ओभरसप्लाइ भयो कि भन्ने लागिरहेको छ। किनभने यो अरु प्रोडक्टजस्तो होइन। धेरै फिल्म बन्दा यो क्षेत्र कलाकारिताभन्दा व्यापारतिर लागेको हो कि भन्ने पीर लागिरहेको छ।

यो फिल्म कसरी बन्यो?
कम्बोडिया छँदा एकदिन विद्यार्थीलाई कथा कस्तो हुनुपर्छ भनेर सिकाउँदै थिए। बन्द कोठामा दुईजना मान्छे छन्, त्यसकै सेरोफेरोमा सर्ट स्टोरी लेख्न भनेँ। तर, विद्यार्थीहरुले यस्तो नि कथा हुन्छ, यो त बोरिङ भइहाल्छ भन्दै नकारे।

उल्टै तपाईं लेखेर देखाउनु भन्दै मलाई पो च्यालेन्ज गरे। त्यसलाई स्वीकार गर्दै मैले स्क्रिप्ट लेखेँ। यस्तो पनि कथा बन्छ भनेर उनीहरुलाई देखाएँ। त्यसै कथालाई मैले फिल्म बनाएको हुँ।

हुन त मैले नेपाली कथा हुनुपर्छ भनेर थुप्रै स्क्रिप्टहरु खोजेको थिएँ। त्यसको लागि २५/३० वटा स्क्रिप्टहरु पनि पढेँ। तर, ती स्क्रिप्ट मेरो स्वादका भएनन्। ती कि गाउँले परिवेशका थिए कि माओवादीका। केही त वैदेशिक रोजगारका कथा पनि थिए। जुनमा फिल्म बनिसकेका छन्। मलाई चाहिँ नयाँ कथा भन्न मन थियो। नभेटेपछि पाँच/छ वर्षअघि लेखेको कथालाई लिएँ।

विदेशको कथालाई फिचर फिल्ममा ढाल्न कत्तिको चुनौती भयो? र, मधेसकै परिवेश किन रोज्नुभयो?
त्यस्तो चुनौती केही भएन। अनुवाद गरेर नेपालीमा बनाउँदा अझ राम्रो बन्यो। म मुस्ताङको हुँ। जति पनि नेपाली फिल्म हेरेँ, धेरैमा पहाड र हिमालकै हुन्छ। फिल्मको गीत पनि मुस्ताङतिर नै खिचिन्छ। नेपालको सुन्दरता भनेर चिनाउँदा पनि हिमाल र पहाडलाई मानिन्छ।

धेरै वर्षअघि म डकुमेन्ट्रीको लागि तराई पुग्दा निकै रमाइलो लागेको थियो। त्यहाँको परिवेश नौलो लागेको थियो। जुन कुरा स्मरण गर्दै म चाहिँ मधेसको बनाउँछु भन्ने भयो। एक त फिल्मको कथामा मधेसको प्रतिनिधित्व कम छ। कसै न कसैले त्यहाँको भ्वइस बोक्नुपर्छ। त्यही निधो गरेपछि कथा झन् दस गुणा राम्रो भयो।

‘मिसिङ: केटी हराएको सूचना’ फिल्मको टाइटल नै युनिक लाग्छ, यो राख्नुको केही विशेष कारण?
एसियाभरि अझै पनि पैत्रिक खालको सोचाइ छ। नेपाली फिल्म हेर्दा पनि मुख्य पात्र हिरो हुन्छ। हिरोइन चाहिँ उसकी श्रीमती वा प्रेमिका हुन्छ। जसको खाली हिरोलाई सपोर्ट गर्ने माइनर रोल हुन्छ। जसको कुनै भ्वइस नै हुन्न। खाली डेकोरेसनको रुपमा प्रयोग हुन्छन्।

तर, मैले जति पनि फिल्म बनाएँ, त्यसको मुख्य क्यारेक्टर केटी हुन्छ। अरु सबैले केटा बनाउँछन्, हामीले चाहिँ महिला राख्छौँ। त्यसले रोलमोडलिङको काम गर्छ। मलाई महिला पात्रलाई बलियो बनाउँदा अझ इन्ट्रेस्टिङ हुन्छ जस्तो लाग्छ। टाइटलदेखि कथामा महिलालाई बढी केन्द्रमा राख्छौँ। यो फिल्म हेरेपछि महिलाहरु कस्तो हुनुपर्छ भन्ने थाहा हुन्छ।

फिल्मको कथामार्फत के भन्न खोज्नुभएको छ?
हाम्रो थकालीमा आफ्नै जातभित्र बिहे गर्नुपर्ने चलन छ। जातबाहिर बिहे गर्ने परिवारमा म पहिलो व्यक्ति हुँ। त्यसको कारण ठूलो समस्या भोग्नुपर्‍यो। तर, अहिले आएर हेर्दा खुला भएको छ। जुनसुकै जातको बिहे गर्न मिल्छ।

तर, अझै पनि अरु जातको बिहे गरे पनि पहाड र मधेसको जोडी तीनचार वटा मात्रै चिन्छु। जबकि विदेशीसँग मज्जाले बिहे भएको छ। नेपालमा चाहिँ पहाडी र मधेसी किन हुँदैन त? त्यसैले पनि यसमा रुचि लाग्यो।

मानिसहरु फरक पृष्टभूमिबाट आएका हुन्छन्। फरक हुनु झन् राम्रो कुरा हो। तर, त्यसै कारण प्रेममा बाधा आउनुहुन्न। पार्टनर खोज्ने कुरामा खुला हुनुपर्छ।

जीवनलाई रसिलो बनाउनलाई कथामा दुवैले प्रेम खोजिरहेका हुन्छन्। जुन भेट्टाउन नसकेको बेलामा अचानक भेट हुन्छ। कथा दुई दिनको मात्र हो। तर, त्यो दुई दिनमा अनेकौँ कुराहरु हुन्छन्। मधेस आन्दोलनदेखि पहाडियाले मधेसलाई कसरी हेर्छ र मधेसले पहाडलाई कसरी हेर्छ भन्ने छ। फिल्मले वैचारिक द्वन्द्धको कुरा पनि समेट्छ।

उजेलीको समय र अहिले धेरै फेरिसक्यो, पछिल्ला दर्शकको स्वाद बुझ्नुभएको छ?
नेपालमा कुन फिल्म चल्छ वा चल्दैन भन्न सकिँदैन। यसो ढाँचा हेर्दा गाउँले परिवेशको कथाहरु अलि बढी चलेको देखिन्छ।

मलाई नेपालमा दुईथरीका दर्शक छन् जस्तो लाग्छ। एकथरी जो विभिन्न ठाउँबाट आएर सहरमा बसोबास गरिरहेका हुन्छन्। उहाँहरुलाई आफ्नो गाउँठाउँ छोडेर आएपछि एककिसिमको सेन्टिमेन्ट हुन्छ। पर्दामा गाउँले चिज हेर्न पाउँदा रमाइलो र यादगार मान्छन्।

तर, मैले बनाएको वा बनाउने फिल्महरु सबै अलग धारका छन्, गाउँले परिवेशको छैनन्। धेरैले मलाई पहिल्यै बनाएको उजेलीका कारण सम्झिनुहुन्छ। त्योबेला त्यो मलाई चासो लागेको थियो। किनभने म सहरको थिएँ।

अर्कोथरी सहरिया, जो पढेलेखेका छन्, जसले इन्टरनेटमार्फत संसार देखेका छन्। अहिलेका युवाहरुले नेटफ्लिक्स लगायतका प्लाटफर्मबाट अन्तर्राष्ट्रिय फिल्म हेरिरहेका छन्। आफ्नो दिमागलाई संसारभरिका फिल्म हेरेर खुला बनाइसकेका छन्। समस्या के रहेछ भने उनीहरुले नेपाली फिल्म भने हेर्दैनन्।

मैले बनाएको यो फिल्म अलग धारको छ। फिल्मको विषयवस्तु यो फिल्म आम दर्शकको लागि नहुन पनि सक्छ। जो नेपाली फिल्म हेर्दैनन् वा नेपाली फिल्ममा फरक खालको हेर्न चाहन्छन्। यो फिल्म उनीहरुलाई सुट हुन्छ। एकपटक पनि हलमा ल्याउन सकियो भने ओहो! नेपालमा पनि यस्तो फिल्म बन्दोरहेछ भन्ने हुन्छ।

टेलिफिल्म ‘उजेली’ रियालिस्टिक थियो, यो चाहिँ कुन खालको सिनेमा हो?
म पढाउँदाखेरी फिल्म भनेको रियालिस्टिक हुनुपर्छ भन्छु। हेर्दाखेरी यो घटना घट्न सक्ने सम्भावना छ भनेर विश्वास दिलाउनुपर्छ। त्यो नहुँदा मजा आउँदैन। तर, यो पनि होइन कि जे भइरहेको छ त्यसमा मात्रै बनाउनुपर्छ। त्यसो गर्दा डकुमेन्ट्री भइहाल्यो।

फिल्म भनेको काल्पनिक पनि हुनसक्छ। जसले दर्शकहरुमा यस्तो होला र भन्ने प्रश्न उठ्न सक्छ। त्यो कल्पना गरेजस्तो भए पनि कहीँ न कहीँ घटिरहेकै हुन्छ। यस्तो भन्दा कथावाचनमा एककिसिमको लेयर थप्छ। रियालिस्टिक बनाउँदा यस्तै हो नि भन्ने हुन्छ। तर, हामी कथाकारको काम एउटा सपनाको संसारलाई जगाउने र आशा दिलाउने पनि हो।

यसमा सबै कुरा छ। सस्पेन्स छ, थ्रिल पनि छ। कमेडी र रोमान्स नि भेटिन्छ। मूल जनरा ड्रामा हो। सबै मिश्रित कथालाई सरल बनाएका छौँ।

यो फिल्म उजेलीका दर्शकको लागि हो कि अरुको लागि पनि?   
उजेलीमा निखर गाउँलेपन थियो। यो पनि जनकपुरतिर गाउँले परिवेशमा केन्द्रित छ। तर, यसमा गाउँले संस्कार र रीतिरिवाज छैन। यसमा दुवै पात्र अवलोकनकर्ताजस्तो छन्। उनीहरुको सम्बन्धको बारेमा कथा छ। तर, उजेलीको जस्तो मीठो गाउँलेपन खोज्नेलाई नहोला। उजेली किन मन पराइयो भन्दा त्यसमा नौलोपन थियो।

त्यतिबेला नेपालमा धेरैले बलिउडको कपी गर्नुहुन्थ्यो। फिल्ममा ठूलो घर र गाडी देखाउँथे। तर, दर्शकले एउटा सरल कथालाई मन पराए। अहिलेको परिवेशमा केटी हराएको सूचना पनि नौलो हुन्छ।

फिल्मको मुख्य भूमिकामा नाजिर हुसेन र सृष्टि श्रेष्ठ नै किन रोज्नुभयो?
म धेरैवर्ष नेपालबाहिर भएँ। जसकारण न म सृष्टिलाई चिन्थे न नाजिरलाई। जब नेपालमा कम्पनी स्थापित गरेँ, मेरो पार्टनर नकिम उद्दीन हुनुहुन्छ। उहाँलाई यो उद्योगबारे धेरै थाहा छ, सबैलाई चिन्नु हुन्छ। मुख्य रोलको लागि उहाँले केहीलाई सजेस्ट गर्नुभएको थियो।

तर, मैले अडिसन गरेर मात्रै कास्ट गराउने प्रस्ताव राखेँ। हुन त नेपालमा धेरै राम्रा कलाकार छन्। तर अडिसन पात्रमा फिट हुन्छन् कि हुँदैनन् भन्ने टेस्ट हो। सुरूमा ठूला कलाकार आउँदैनन् भन्ने कुरा आएको थियो। त्यसले केही हतोत्साहित पनि भएँ।

तर, त्यस्तो पनि होइन रहेछ। सौगात र स्वस्तिमालगायतका चलेका कलाकार पनि आउनुभयो। यद्धपि, कथाअनुसार नाजिरसँग सबै कुरा मिलेको थियो। हिरोइनमा भने च्वाइस धेरै थियो। भेट्दाखेरी सृष्टि फिट हुने देखियो। सुष्टि हेर्दा पनि इनोसेन्ट। र, गोरी पनि छ। सहरिया पाराको पनि देखिने। सृष्टिलाई त एकैपटक दुई फिल्ममा साइन गराएँ।

फिल्म चल्यो भने के कारणले चल्छ? चल्दैन भने के कारणले चल्दैन जस्तो लाग्छ?
ठ्याक्कै भन्न त सकिँदैन। सिधा पारामा भन्दा यो फिल्म ‘पूर्णबहादुरको सांरगी’ जस्तो मासको लागि चासो नहोला। फिल्मभरि दुईजना मात्रै छन्। अरु साइड क्यारेक्टर भए पनि थोरै आउँछन्। समाज र समुदाय कम छ। जसले त्यो पाराको दर्शकलाई नहोला।

तर, जसले कुनै नौलो चिज खोज्छन्, फिल्म हेरिसकेपछि एकदम सोच्ने बनाउँछ नि। बौद्धिक कुरा खोज्छन्। यो फिल्म हेर्दा अहिलेसम्म नहेरेको चिज हेर्छन्। जुन नौलो लाग्छ, मजा आउँछ। प्रेमको खोजीको कथा हो। जुन युनिभर्सल हो। थोरैको लागि मन पर्छ होला। एकपल्ट आएर ट्राइ गरिदिनुहोस् भन्न चाहन्छु। नेपाली फिल्म यस्तो हुँदोरहेछ भन्ने अनुभवको लागि आउनुहोस् भन्ने हो।

‘पूर्णबहादुरको सांरगी’का कारण रिलिज मिति सार्नुभएको थियो, अब चाहिँ यो फिल्म चल्छ त?
त्योबेला एकदमै तम्तयारीका साथ लागेका थियौँ। मार्केटिङमा पनि धेरै खर्च गरिसकेका थियौँ। तर, दुई बलिउड फिल्म हुँदा ‘पूर्णबहादुरको सांरगी’ यति चल्ला भनेर आशा थिएन। चल्न थालेपछि हामी बस्यौँ। सानो मार्केट छ, यसरी दर्शक आइरहेको बेला सहयोग गर्नुपर्छ छलफल भयो।

एक त हाम्रो फिल्मको निर्माता नकिम। क्यूएफएक्सको मालिक उहाँ आफैँ हुनुहुन्छ। हाम्रो फिल्म लागेको भए हलमा प्राथमिकता दिइन्थ्यो। जसले पूर्णबहादुरको सांरगीलाई ठूलो असर पर्थ्यो। धेरै बिजनेस हुने त क्यूएफएक्स सिनेमाभित्र नै हो। धेरै मिटिङ गरेर त्यो ठाउँ छोड्ने कुरा भयो। हुन पनि त्यो फिल्म चलेर हाम्रो उद्योग राम्रो रहेछ भन्ने बन्यो।

लगानीकर्ता बढ्दा फाइदा हुन्छ। हामीले ठूलो घाटा खायौँ। तर, पनि खुसी छौँ। अहिले सही समय आएजस्तो लाग्छ। पूर्णबहादुरको जस्तो कमाउने आशा त सबैलाई हुन्छ। त्यतिको नभए पनि दर्शकहरूले ‘मिसिङ: केटी हराएको सूचना’ हेरिदिनुभयो र नेपाली सिनेमाको नयाँ अनुभव लिनुभयो भने म एकदम खुसी हुनेछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad