ad ad

समाज


त्यसकारण सुरुमै शंकाको घेरामा थिए लोकबहादुर

त्यसकारण सुरुमै शंकाको घेरामा थिए लोकबहादुर

परिवार हत्याका अभियुक्त लाेकबहादुरलाई सार्वजनिक गर्दै प्रहरी।


उजिर कार्की
भदौ २७, २०७८ आइतबार १७:२९, काठमाडौँ

संखुवासभाको मादी १ खोला गाउँका एकै परिवारका ६ जनाको हत्याका अभियुक्तलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। 

‘मानसिक रोगी’ सोही गाउँका २५ वर्षीय लोकबहादुर कार्कीले हत्या गरेको प्रहरीको निष्कर्ष छ।

लोकबहादुर उनै व्यक्ति हुन् जसले सुरुमा ‘तेजबहादुरको शव यहाँ छ’ भनेका थिए। 

तर उनले देखाएको ठाउँबाट शव देखिँदैनथ्यो। शव नै नदेखिने ठाउँबाट तेजबहादुरको हत्या भएछ भनेर कसरी पत्ता लगाए लोकबहादुरले? 

त्यसपछि प्रहरीले यो प्रश्नको उत्तर खोज्न थाल्यो। 

घटनालगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुग्यो। दिउँसो जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीको टोली घटनास्थल पुग्यो। 

सोमबार साँझ नै संघीय प्रहरी इकाइबाट एसपी भीम ढकालको नेतृत्वमा दुईवटा तालिमप्राप्त कुकुर लिएर प्रहरी पुग्यो। 

मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट डीएसपी रुगम कुँवरको नेतृत्वमा प्रहरी खटियो। प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अरुणकुमार बीसी पनि घटनास्थल पुगे। 

यो घटना अनुसन्धानमा दुईवटा कुकुरसहित ४९ जना प्रहरी खटिए। 

‘प्रहरीको अनुसन्धान घेरामा सुरुदेखि नै लोकबहादुर परेका थिए। तर उनको हाउभाउ फेरि शंका गर्नुपर्ने खालको थिएन’, अनुसन्धानमा संलग्न प्रहरी भन्छन्, ‘उनीबाहेक अर्को कोही छ भन्ने क्लु पनि फेला परेन।’

यसरी सुरु भयो अनुसन्धान
घटनास्थलमा प्रहरी पुगिसकेपछि सूक्ष्म ढंगबाट अध्ययन सुरु भयो। 

सुरुमा घटनास्थल हेर्यो। यसले पनि लोकबहादुर नै शंकाको घेरामा परे। तर उनी प्रहरीसँगै अग्रसर भएर घटनास्थलमै खटिएका थिए। 

लोकबहादुरको घरभन्दा करिब २० मिटरको दूरीमा मात्रै तेजबहादुरमाथि सुरुमा प्रहार भएको थियो। जहाँ रगत देखिन्थ्यो। त्यहाँबाट लडेर तल सडकको कुनामा थियो शव। 

लोकबहादुरको घरनजिकैको सुरुमा प्रहार गरिएको स्थानबाट देखिँदैनथ्यो। 

तर तेजबहादुरकी आमा बिरामी भनेर त्यहाँ जाँदै गरेका माथिल्लो घरका कक्षा १० मा पढ्ने लोकबहादुरका भाइ नाता पर्नेलाई उनले भनेछन्, ‘भाइ यहाँ हेर त बडौलाई कसले मारेछ!’ 

उनले जहाँबाट त्यसो भनेका थिए त्यहाँबाट शव देखिँदैनथ्यो। 

बडाबा (बडौ)को हत्या भएको कुरा पनि कसैलाई थाहा थिएन । लोकबहादुरले बाटामा रगत देखिनासाथ कसरी बडाबाको हत्या भएको भने? प्रहरीको ‘नोटिस’मा पर्यो।

अर्को कुरा, लोकबहादुरको परिवारकै हत्या गर्ने मनसायले बाहिरको मान्छेले गरेको हुन्थ्यो भने उनकै घरनजिक हत्या हुनुपर्ने हो। लोकबहादुरको घरनजिक किन हत्या गरियो? योजनाबद्ध बाहिरको मान्छेबाट हत्या हुन्थ्यो भने यो ठाउँ हुँदैनथ्यो।

यो घरका मान्छेले थाहा पाउलान् म समातिन सक्छु भन्ने हुन्छ। त्यही भएर यहाँ बाहिरको मान्छेबाट हत्या होइन। फरक फरक ठाउँमा हत्या भएको छ। लोकबहादुर घरमै थिए भने कसरी थाहा पाएनन्? 

यिनै कारणले लोकबहादुरमाथि प्रहरीको निगरानी बढ्यो। 

गाउँका अरुलाई पनि प्रहरीले सोध्यो। लिखित रुपमा पनि धेरैसँग घटनाको बारेमा बुझ्यो। अरुमाथि प्रहरीको शंका भएन। 

कपडा र घटनास्थल बने प्रमाण 
एकै परिवारका ६ जनाको हत्या चार ठाउँमा भएको थियो। घटनास्थलको अध्ययनपछि प्रहरीले यो घटना धेरै जनाको संलग्नतामा भएको होइन भन्नेतर्फ देखियो।

तेजबहादुरको सडकको कुनामा हत्या भएको थियो। त्यहाँबाट २५ देखि ३० मिटरको दूरीमा सासूबुहारीको हत्या भएको छ। 

सय मिटरको दूरीमा नातिनातिनाको हत्या भएको छ। वृद्धाको घरमै हत्या भएको छ। घटनास्थल हेरिसकेपछि प्रहरीले अनुमान गर्यो– चिनेको मान्छेबाटै घटना भएको हो। दोस्रो कुरा मानसिक रुपमा अस्वस्थ मान्छेले गरेको हुनुपर्छ। 

प्रहरी भन्छ– हाम्रो अनुभवले पनि यसअघिका केही घटनामा मानसिक रुपमा विक्षिप्त व्यक्तिहरुबाटै यस्ता घटना भएका छन्। 

प्रहरीले लेनदेनको विषयमा पनि अनुसन्धान ग¥यो। जग्गा जमिन र साँध सिमानाको विवादले भएको हो कि भनेर पनि अनुसन्धान ग¥यो। घर परिवारकै हात हुनसक्छ भनेर पनि अनुसन्धान गर्यो। 

खासगरी तेजबहादुरकी कान्छी बुहारी झापामा थिइन्। उनीमाथि पनि प्रहरीले शंका नगरेको होइन। तर विषयमा ‘क्लु’ भेटिएन। 

अनुसन्धानमा संलग्न प्रहरी भन्छन्– आर्थिक कारणले हत्या भएको हुनसक्छ भन्नेतर्फ पनि हामीले अनुसन्धान गर्यौं। यो परिवारले झापामा जग्गा किन्ने कुरा थियो। 

घरमा पैसा हुनसक्छ भनेर कसैबाट हत्या भएको हुन सक्छ भन्नेतर्फ पनि प्रहरीले अनुसन्धान गर्यो। तर घरभित्रै ८ लाख ८९ हजार रुपैयाँ नगद भेटियो। 

घरमा भएका गरगहना पनि सुरक्षित नै भेटिए। 

हत्या गरिएका व्यक्तिले लगाएका गहना पनि लुटिएका थिएनन्। योसँगै आर्थिक कारणबाट हत्या भएको होइन भन्नेमा पुग्यो प्रहरी।

लोकबहादुर भने सुरुबाटै प्रहरीको निगरानीमा थिए। अरु शंकामा बल नपुगेपछि प्रहरीले लोकबहादुरको घर नै खानतलासी गर्यो। 

घरभित्र रहेको बाकसमा लोकबहादुरको हाफपेन्ट भेटियो। त्यसमा रगत लागेको थियो। अर्को कालो भेस्टमा पनि रगत भेटियो। 

‘यी कुराले हामीलाई उसैले हत्या गरेको हो भन्नेमा झन् नजिक पु¥यायो’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘सुरुमा लोकबहादुरलाई प्रहरीले सोधीखोजी गर्दा सिधै अस्वीकार गर्थे।’ 

‘तर पछि विस्तारै प्रमाण दिनुहोस् न! प्रमाण दिन सक्नुभयो भने म स्वीकार्छु भन्न थाले’, अनुसन्धान अधिकृत भन्छन्। प्रहरीले तीन दिन दिनरात उनलाई नियन्त्रणमै राख्यो। 

अन्ततः उनले हत्या स्वीकार गरे। घटना कसरी र किन भयो भन्ने कुरा बताए।

यसरी भयो हत्या
घटना भएको दिन बिहानै तेजबहादुर लोकबहादुरको घरमा गएका थिए। 

घरबाट एक घण्टा टाढा रहेको मादी ३ स्थित पिप्लेमा रहेको खेतमा काम गर्नु थियो। तेजबहादुरले गाउँबाट खेताला लिएर जाने तयारी थियो। 

काम सघाउन लोकबहादुर र उनका भाइलाई पनि भनिएको थियो। तर सोमबार बिहानै तेजबहादुर खेताला कन्फर्म गर्न थाले। 

घरनजिकै रहेका लोकबहादुरलाई भेट्न गए। लोकबहादुरले आफू र भाइ आउने वचन दिएर काकालाई पठाए। 

उनका बुबा र भाइ घरमा थिएनन्। भाइले बिहानै गाईवस्तुलाई खोले पकाए। चिया खाएर बाबु र भाइ घाँस काट्न गए। 

दुई भाइ खेतालो आउने निश्चित भएपछि तेजबहादुर घर फर्किंदै थिए। तर काका अलिक पर पुगेपछि लोकबहादुर चिर्पट दाउरो बोकेर पछि–पछि गए। 

‘आफूलाई पागल र काम गर्न नसकेको भन्दै गाली गरेको त्यतिबेला सम्झिएँ। दाउरो टिपेर पछ्याउँदै गएँ। बारीको डिलमा रहेको गोगनेको बोटनजिकै प्रहार गरेँ, काका चिच्याउँदै ढले’, लोकबहादुरले प्रहरीसँग भनेका छन्। 

भिरालो जग्गामा ढलेका तेजबहादुर लड्दै तल पुगे। तल पुगेपछि ‘लोकेले मलाई मार्यो’ भन्दै उठ्न खोजेका थिए। 

लोकबहादुर त्यतिबेला त्यहीँ पुगिसकेका थिए र फेरि टाउकोमै प्रहार गरेर लडाए। त्यसपछि तेजबहादुर उठेनन्। 

तेजबहादुरले चिच्याएको उनको परिवारले मात्रै थाहा पाए। तेजबहादुरकी श्रीमती कमला घटनास्थलतर्फ जाँदै थिइन्। तर लोकबहादुर वरै आएर उनीमाथि पनि चिर्पट प्रहार गरे। टाउकोमा चिर्पट प्रहार भएपछि उनी बाटोमुनि खोल्सामा झरिन्। उनीसँगै आएकी बुहारी रन्जना भने सासू ढलेको देखेर बेहोस भइन्। 

बेहोस भएर ढलेकी रन्जनालाई उठ्न खोज्दा खोज्दै टाउकोमै चिर्पट प्रहार गरे। पटक पटक टाउकोमा हानेर सासू ढलेकै खोल्सातिर खसालिदिए। 

हजुरबुबाको हारगुहार सुनेर दुई जना बच्चाहरु पनि घरनजिकै बारीको डिलमा निस्किएका थिए। लोकबहादुर तीन जनाको हत्या गरेर त्यहाँ पुगे। र उनीहरुमाथि पनि चिर्पट बजारे। 

दुई बालकको हत्या गरेपछि घर पुगेका लोकबहादुरले खोले पकाइरहेकी ८४ वर्षीया पार्वताको कपालमा समातेर भित्तामा टाउको ठोक्काइदिए।

पटक–पटक टाउको ठोक्काइदिएपछि पार्वता पनि त्यही ढलिन्। त्यसपछि घर फर्किएका लोकबहादुरले त्यो चिर्पट आगोमा हालेर नष्ट गरे। 

मानसिक रोगी लोकबहादुर अघिल्लो रात सुतेका थिएनन्। 

‘अघिल्लो रात निद्रा नलागेर छटपटी भएर बसेको थिएँ। एक्लै घरमा भएका बेला काका आइपुगे। खेताला कन्फर्म गरेर फर्किंदै गर्दा मेरो मनमा काकाप्रतिको आक्रोश आयो र यही हो मौका भनेर हानेँ’, लोकबहादुरले प्रहरीसँग भनेका छन्। 

लोकबहादुर २०१४ मा कतार गएका थिए। कमाइ राम्रो भएन। त्यसपछि २०१६ मा मलेसिया पुगे। 

तर स्वास्थ्यमा समस्या आएपछि काम गर्न नसकेर फर्किनुपर्यो। गएको केही महिनामै फर्किए। आफू जाँदाको ऋण पनि तिर्न सकेनन्। दोस्रो पटक २०१९ मा कतार पुग्दा पनि त्यस्तै भयो। काम गर्न सकेनन् र फर्किनुपर्यो। 

त्यसपछि घरमै बसेका उनको व्यवहारले परिवार पनि आजित थिए। रिसको बेला घरमा बिगार गर्थे। बुबा र भाइलाई पनि हिर्काउँथे। 

उनी आवेगमा आएको बेला जे भेट्यो त्यसैले हान्थे। राति नसुत्ने, एक्लै हिँड्ने। घरमा प्रायः झगडा गरिरहन्थे।

उनका बुबा काम कम सुन्छन्। बोली लटपटिने छ। घरको आर्थिक अवस्था कमजोर छ। 

लोकबहादुरका बुबाको स्वास्थ्य पति त्यस्तो भएकै कारण उनका हजुरबुबाले मर्ने बेलामा तेजबहादुरलाई घर रेखदेख गरिदिन भन्थे। 

घरका जेठा छोरा लोकबहादुरलाई अह्राउन अरुले सक्दैनथे। तेजबहादुरले नै अह्राइ कराइ गर्थे। बेला बेला उनी घरमै गएर सम्झाउँथे। 

घरमा झगडा भएको बेला पनि उनै पुग्थे र साम्य पार्थे। घरमा काम नगरे किन काम नगरेको भन्दै गाली गर्थे। गाली गर्ने क्रममा उनले पागल, अल्छी तँ काम लाग्दैनस् भन्थे। 

यो कुराले आफूलाई पीडा दिने लोकबहादुरले बताएका छन्। जुन कुरा आफूलाई लामो समयदेखि चित्त दुःखिरहेको र त्यो दिन पनि यही कारण हत्या गरेको लोकबहादुरले बताएका छन्। 

लोकबहादुरका हजुरबुबा बित्ने बेलामा दिएको जिम्मेवारी पूरा गर्ने क्रममा भतिजलाई गाली गरेका तेजबहादुरको अन्ततः त्यही कारण परिवारै सखाप भयो। 

याे पनि -

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .