ad ad

खेल


क्यानको सम्पर्कमा नआएका सबै खेलाडी ‘ड्रप’ गर्न सम्भव छ?

कारबाही फिर्ता गर्नुपर्ने ज्ञानेन्द्रसहितको अडान
क्यानको सम्पर्कमा नआएका सबै खेलाडी ‘ड्रप’ गर्न सम्भव छ?

यज्ञराज जोशी
पुस १८, २०७८ आइतबार १७:२५, काठमाडौँ

सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि आगामी (फेब्रुअरी) महिना ओमानमा ग्लोबल छनोट हुँदैछ।

ग्लोबल छनोटमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, फिलिपिन्स र युएईसहित ८ राष्ट्र खेल्दैछन्। 

सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष २ विश्वकपमा छनोट हुनेछन्। सन् २०१४ पछि यसपटक नेपाललाई विश्वकप खेल्ने राम्रो अवसरका रुपमा उक्त छनोटलाई लिइएको थियो। 

प्रतिस्पर्धी अन्य टोली धमाधम अभ्यास र शृंखलामा व्यस्त रहँदा नेपाली क्रिकेट झन् झन् अन्योल र विवादको भूमरीमा फस्दै गएको छ।

ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको अनुशासनको कारबाहीबाट सुरु भएको अन्योलको अवस्था अहिले बहिष्कारसम्म पुगेको छ। यी चार खेलाडीलाई अन्य ९ खेलाडीले पनि साथ दिएका छन्। क्यान र खेलाडी आमनेसामने भएका छन्। 

क्यानले आइतबारदेखि सुरु गर्ने भनेको बन्द प्रशिक्षणका लागि शनिबार साँझसम्म घोषित ३० जना खेलाडीलाई सम्पर्कमा आउन भनेको थियो। तर आइतबार दिउँसोसम्म कारबाही गरिएका चारसहित १३ खेलाडी सम्पर्कमै नआएर बन्द प्रशिक्षण बहिष्कार गर्ने जनाउ दिएका छन्। 

को पुगे सम्पर्कमा? 
क्यानको सम्पर्कमा पुग्नेमा कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशन कुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरिशंकर शाह छन्।

को गएनन्?
यस्तै होटल पुगेर सम्पर्कमा नआउनेमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा, अभिनास बोहरा, सुशन भारी, विक्रम सोब, रोहित कुमार पौडेल र नन्दन यादव छन्। 

खेलाडीहरूले निर्देशन अवज्ञा गरेपछि अघि बढ्ने रणनीति बनाउन क्यान पदाधिकारी अहिले छलफलमा छन्। 

क्यानका एक केन्द्रीय सदस्यका अनुसार अभिभावक संस्थाको निर्णयलाई अवज्ञा गर्ने खेलाडीहरुलाई ड्रप गर्दै अघि बढ्नुपर्ने आवाज पनि उठेको छ। 

विकल्प के?
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाल खेलाडीहरु सम्पर्कमै नआएपछि प्रतियोगिता मुखैमा अरु खेलाडीलाई बोलाउनुको विकल्प नहुने बताउँछन्। 

‘अहिलेका खेलाडी नआए नयाँ ल्याउनुको विकल्प छैन। कि क्यानले कम्प्रमाइज गरेर निर्णय उल्टाउनुपर्यो। त्यसका आफ्नै फाइदा–बेफाइदा छन,’ अग्रवालले भने, ‘यिनीहरुलाई ड्रप गरेर अरु खेलाडीलाई बोलाउन कठिन छैन। तर फेरि टिमलाई फेरि निर्माण गर्नुपर्ने हुन्छ।’

‘महत्वपूर्ण प्रतियोगिता भएकाले पहिलो रोजाइका खेलाडी नहुँदा दोस्रो र तेस्रो रोजाइकाले मौका पाउँछन्’, उनले थपे, ‘टिम ‘विल्डअप’ भए पनि अनुभव लगायत अन्य कुराको अभाव देखिँदैन।’

क्यानलाई पत्र 
अनुशासनको कारबाहीमा परेका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले शनिबार क्यानलाई इमेल लेख्दै कारबाही फिर्ता गर्न अनुरोध गरिसकेका छन्। 

अनुशासन उल्लंघन गरेको पाइएको भन्दै क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र र दीपेन्द्रलाई पदमुक्त गरेको थियो। उनीहरुसँगै सोमपाल र कमललाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो। 

उक्त निर्णयबाट पछि हट्दा क्यानको गरिमामा आँच आउने भएकाले नेपाली क्रिकेट एकदमै जटिल अवस्थामा पुगेको पूर्व कप्तान अग्रवाल बताउँछन्। 

‘गलत वा सही जे निर्णय गर्नुथ्यो क्यानले गरिसक्यो। निर्णय गर्दै फेरि पछाडि फर्कदा संस्थाको गरिमा रहँदैन। भोलिका दिनमा पनि यही नजिर बस्छ,’ उनी भन्छन्, ‘खेलाडी र क्यान दुवैले नेपाली क्रिकेटलाई जटिल अवस्थामा पुर्‍याए। दुवै पक्ष पछि हट्ने अवस्था छैन।’

आधा खेलाडीले क्यानको क्याम्पमा नजाँदा टोलीमा टिम स्पिरिट नै नरहने अग्रवाल बताउँछन्। कुनै उपाय निस्किए पनि खेलाडीहरूको मन फाटिसकेको उनले बताए। 

‘टिम यस्तो स्थितिमा पुगिसक्यो कि समाधान आयो भने पनि मन फाटिसक्यो। खेलाडी क्याम्पमा फर्किए सामूहिक भावनाको अभाव हुन्छ,’ उनले भने, ‘पहिले गुट थियो होला। टिमभित्र एकअर्काबीच प्रतिस्पर्धा हुन्छ। अहिले कप्तान नै दुईवटा भइसके। क्यान पछाडि फर्किँदा नवनियुक्त कप्तान सन्दीप रिसाउने होला। यो मानवीय स्वभाव हो, कप्तानबाट हटाएपछि ज्ञानेन्द्रलाई पनि खेल्न गाह्रो छ।’

क्यानले सदस्य दुर्गाराज पाठकको संयोजकत्वमा खेलाडीसँग वार्ता टोली बनाएको छ। तर एक केन्द्रीय सदस्यले क्यान आफ्नो निर्णयबाट पछि हट्ने सम्भावना नरहेको बताए। 

‘खेलाडीहरूले अनुशासन उल्लंघन गरेको पाइएपछि बोर्डले कारबाही गरेको हो। संस्थाभन्दा ठूलो खेलाडी हुनसक्दैन,’ ती सदस्यले भने, ‘खेलाडीहरु फेरि पनि अवज्ञा, मनोमानी गर्दै हिँड्ने हो भने नयाँ खेलाडी बोलाउनुको विकल्प रहँदैन।’ 

प्रशिक्षकको तर्क
नवनियुक्त प्रशिक्षक पुबुदु दासानायकेले पनि कप्तान परिवर्तनको विषय बोर्डको अधिकार भएकाले त्यसलाई सम्मान गर्नुपर्ने बताइसकेका छन। 

उनले जसले नेपालको लोगो छातीमा राखेर राष्ट्रको प्रतिनिधित्व गर्न चाहन्छ, त्यो टोलीमा हुने र जुनसुकै वरीयता भए पनि खेल्न नचाहने टोलीमा नहुने बताइसकेका छन्। 

‘विश्वभर बोर्डलाई कप्तान फेर्ने अधिकार हुन्छ। हामीले त्यो निर्णयको सम्मान गर्नुपर्छ,’ नियुक्तिपछिको पहिलो पत्रकार सम्मेलनमा पुबुदुले भनेका थिए, ‘जसले नेपालको लोगो छातीमा राखेर राष्ट्रको प्रतिनिधित्व गर्न चाहन्छ, त्यो टोलीमा हुनेछ। जसले चाहँदैन, जुनसुकै वरीयता भए पनि टोलीमा हुँदैन। राष्ट्रका लागि खेल्न चाहनेका लागि माहोल बनाइदिन म सबैसँग छलफल गरिरहेको छु।’

खेलाडीहरु सम्पर्कमा नआएकाले आइतबारबाट तय भएको बन्द प्रशिक्षण प्रभावित भइसकेको छ। सम्पर्कमा आएका खेलाडीले होटलमै आन्तरिक तयारी गरेका छन्। 

उनीहरुले प्रशिक्षकसँग अन्तरक्रिया र फिजियो गरिरहेका छन्। सोमबारबाट त्रिवि मैदानमा नेपाली टोलीको नियमित बन्द प्रशिक्षण हुने क्यानले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .